टिपरमा भ्यान ठोक्किँदा आमाछोराको मृत्यु , एकको अवस्था गम्भीर



चितवन । मुग्लिङबाट भरतपुरतर्फ आउँदै गरेको बा.११ च ५७८८ नम्बरको मारुती भ्यान विपरीत दिशाबाट गइरहेको लु. २ ख १७०१ नम्बरको टिपरमा ठोक्किँदा भ्यानमा सवार आमा छोराको मृत्यु भएको छ । बिहान करिब साढे ८ बजेको दुर्घटनामा अर्का एक गम्भीर घाइते भएका छन् ।

नारायणगढ–मुग्लिङ सडक खण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुङ्गाना र उनका नौ वर्षीय छोरा निमेश ढुङ्गानाको मृत्यु भएको हो ।

निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारको  क्रममा बिहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका–३ की धिरमाया वलीको अवस्था पनि गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी–१ का राजकुमार ढुङ्गानाको अवस्था मध्यम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्