प्रजातन्त्र दिवसको अवसरमा रामेछापमा ८ जना कैदीले पाए आम माफी



रामेछाप  । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा रामेछापका आठ जना कैदीले आम माफी पाएका छन् ।

विभिन्न मुद्दा लागेर जेल जीवन बिताइरहेका उनीहरुको अदालतले तोकेको कैदको ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ५० प्रतिशत कैद भुक्तान हुन बाँकी रहेका उनीहरुको बाँकी कैदको कट्टा गरी आम माफी दिइएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७२ औंं प्रजातन्त्र दिवसको अवसरमा
देशभरिका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिने कार्यअन्तर्गत रामेछाप कारागारमा रहेका आठ कैदीले आममाफी पाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला कारागार रामेछापको सिफारिस अनुसार गृह मन्त्रालयका प्रस्तावमा राष्ट्रपति भण्डारीले आठ  कैदीहरुलाई आममाफी दिनुभएको छ । जिल्ला कारागार रामेछापले ५० प्रतिशत कैद भुक्तान गरिसकेका १४ जना कैदी बन्दीको माफी मिनाहाको लागि सिफारिस गरिएकोमा ८ जनाको मात्रै माफी मिनाहा भएको जिल्ला कारागार कार्यालय रामेछापले जनाएको छ ।

आममाफी पाउने रामेछापका कैदी बन्दीहरुमा रेसुङ्ग–९ गुल्मीका मनु नेपाली, महेन्द्रझ्याडी–८ सिन्धुलीका बाबुलाल योञ्जन, तीनपाटन–१ सिन्धुलीका यायत्रा (बोगटी) सुवेदी, सालुदुधकुण्ड–११का  निङमार भन्ने मिङमार तामाङ, धनुषाधाम–५ धनुषाका श्रीराम वैनवार यादव, चौदण्डीगढी–१० उदयपुरका नविन कुमार चौधरी,सिङ्गपालकाभ्रे–९ सिन्धुपाल्चोकका सागर भन्ने फुर्वा तामाङ, दोरम्बा–३ रामेछापका उमेश थापा मगर रहेको जिल्ला कारागार रामेछापले  बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्