सत्ता गठबन्धनको बैठक : एमसीसीबारे प्रचण्डले राखे तीन शर्त के के



काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसी संसद्‍मा टेबल गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्र समझदारी भए पनि त्यसमा केही मतभेद देखिएको छ। संसदमा एमसीसीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गठबन्धनका शीर्ष नेताहरूबिच मतभेद देखिएको हो।

सत्तारुढ गठबन्धनको आइतबार बालुवाटारमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन बुँदे सर्त राखेको उनको सचिवालयले जनाएको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार पाँच दलका शीर्ष नेताको बैठकमा प्रचण्डले कुनै पनि विधेयक संसदमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भए पनि सदनमा अवरोध जारी रहेको अवस्थामा सभामुखलाई दबाब दिन उचित नहुने बताएका थिए।

‘अध्यक्ष कमरेड प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएता पनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरू कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्रै टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो,’ मल्लले भने।

प्रचण्डले एमसीसी टेबुल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन भनेका थिए। ‘अध्यक्ष कमरेडले प्रधानमन्त्रीलाई टेबुल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो,’ मल्लले भने, ‘तर प्रधानमन्त्री ज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ।’

प्रचण्डले यदि एमसीसी संसदमा लैजाने हो भने आ-आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी गर्नुपर्ने भनेका थिए। मल्लका अनुसार प्रचण्डले समितिमा छलफलको प्रस्ताव राखेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने टेबुल गरेर प्रक्रियामा लैजानुपर्ने अडान राखेका छन्। माओवादीले एमसीसी सम्बन्धी प्रस्ताव टेबुल गर्न दिने भए पनि विपक्षमा मत हाल्ने रणनीति बनाइसकेको छ।

आइतबारको बैठकमा गठबन्धनका शीर्ष नेताहरू एमसीसीमाथि सदनमै छलफल गर्नेगरी संसद्‌मा टेबुल गर्न सहमत भएका हुन्। गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज (आइतबार)को बैठकमा एमसीसी टेबल हुने बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्