ललितपुर मेयर च्याम्पियनसिप : एपीएफको लगातार दोस्रो जित



काठमाडौं । ललितपुर मेयर महिला टी-२० च्याम्पियनसिपमा विभागीय टोली एपीएफले लगातार दोस्रो जित निकालेको छ। आज भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ९० रनको सामान्य लक्ष्य एपीएफले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

उसका लागि रोमा थापाले नटआउट २३, ममता चौधरीले अविजित १४, ज्योति पाण्डेले ११ र इन्दु बर्माले १० रनको योगदान दिइन्।सुदूरपश्चिमका लागि बलिङमा ईश्वरी बिष्टले सर्वाधिक दुई विकेट लिइन्। यस्तै, रितु कनोजियाले एक विकेट लिइन्।

त्यसअघि, टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदै ८९ रन बनायो। सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाइन्। त्यस्तै, डोली भट्टले ११ रन बनाइन्। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

एपीएफका लागि बलिङमा सोनु खड्काले सर्वाधिक ३, करुणा भण्डारी, सरिता मगरले दुई/दुई र राजमती ऐरीले १ विकेट हात पारिन्।एपीएफले आफ्नो पहिलो खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै, सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ५८ रनले हराएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्