ललितपुर महिला च्याम्पियनसिप : एपीएफको लगातार तेस्रो जित



काठमाडौं । विभागीय टोली एपीएफ क्लब ललितपुर मेयर कप महिला क्रिकेटमा लगातार तीन खेल जित्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ। टियू मैदानमा शुक्रबार भएको पहिलो खेलमा ललितपुर मेयर ११ लाई ७ विकेटले पराजित गर्दै एपीएफले फाइनल यात्रा तय गरेको हो । एपीएफले यसअघि प्रदेश १ र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो।

एपीएफले लिग चरणको अन्तिम खेल आइतबार लुम्बिनी प्रदेशसंग खेल्नेछ। लगातार तीन हारपछि ललितपुर भने फाइनल होडबाट बाहिरिएको छ। ओपनर ज्योति पाण्डेले प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गरेपछि ललितपुर मेयर ११ ले दिएको ८० रनको लक्ष्य एपीएफले १३ ओभर खेल्दै ३ विकेट गुमाउँदै पूरा गरेको हो।

एपीएफका लागि ‍ओपनर ज्योति पाण्डेले ४५ बल खेल्दै ११ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाइन्। रोमा थापा ११ रनमा अविजित रहिन्। कप्तान सीता राना मगर १, ममता चौधरी ५ र सरिता मगर ८ रन बनाएर आउट भइन्। त्यसअघि, टस जितेर ब्याटिङ गरेको ललितपुर मेयर ११ले ५ विकेट गुमाउँदै ८० रनको योगफल तयार पारेको थियो।

ललितपुरका लागि सुमन खतिवडाले ३५ बल खेल्दै २ चौकाको मद्दतमा ३० रन बनाइन्। उनलाई एपीएफकी सुमन विष्टले कट एण्ड बोल्ड गरिन्। आरती विडारीले अविजित २१ रन जोडिन् । कप्तान सरस्वती कुमारी ९ रनमा अविजित रहिन्।

ललितपुर मेयर ११ का सुरुवाती तीन ब्याटर हेलिशा गुरुङ, कन्चन श्रेष्ठ र अनुराधा चौधरी रनआउट भए। बलिङमा एपीएफका लागि सुमन विष्ट र करुणा भण्डारीले १/१ विकेट लिइन्। दुवैले ४ ओभरमा समान १७ रन खर्चेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्