सत्ता गठबन्धनको निर्णय एमसीसी अनुमोदन गर्ने




काठमाडौं। अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सांसदबाट पारित गर्ने सत्ता गठबन्धनले औपचारिक निर्णय गरेको छ। बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा उक्त सहमति भएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

संसद्‌बाट ‘व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने’  सहमति भएको उनले जानकारी दिए। ‘व्याख्यात्मक घोषणासहित सांसदबाट पारित गर्न हामी सबै सहमत हुने निर्णय भयो,’ बैठकपछि पौडेलले भने। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल‚ कृष्णप्रसाद सिटौला‚ महामन्त्री गगनकुमार थापा‚ उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।

सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका हुन्। माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’सहित संसद्‌बाट पारित गर्न सहमत भएका हुन्। एमसीसीमा अन्तिम निर्णय लिन बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बसेको हो।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। गठबन्धन दलबिच औपचारिक समझदारी बनेमा प्रस्ताव आइतबारकै बैठकबाट पारित गर्ने र त्यसपछि दफावार छलफल गरेर सके तत्कालै, नसके सोमबार अनुमोदन गराउने तयारी प्रधानमन्त्रीले गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्