श्रीलंकासँगको टी-२० सिरिज भारतद्वारा क्लिनस्विप



काठमाडौं । श्रीलंकासँगको टी-२० सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति भएको अन्तिम तथा तेस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले सिरिज ३-० ले क्लिन स्विप गरेको हो । सिरिजको तेस्रो खेलमा श्रीलंकाले दिएको १४७ रनको लक्ष्य भारतले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि श्रेयस अय्यरले अर्धशतकीय पारी खेले । उनले ४५ बलमा नौं ९ चौका र एक छक्कासहित अविजित ७३ रन बनाए । त्यस्तै, रवीन्द्र जडेजाले नटआउट २२, दीपक हूडाले २१ र सञ्जु सामसनले १८ रनको योगदान दिए । श्रीलंकाका लाहिरु कुमारा, चमिका करुणारत्ने र दुश्मन्था चामेराले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनायो । उसका लागि कप्तान दासुन शनाकाले उत्कृष्ट पारी खेले । उनले ३८ बलमा ९ चौका र २ छक्कासहित ७४ रन बनाए । त्यस्तै, विकेटकीपर दिनेश चन्डिमलले २५ र चमिका करुणारत्नले नटआउट १२ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा आवेश खानले दुई, हर्षल पटेल, रवि विश्नोई र मोहम्मद सिराजले एक/एक विकेट लिए। भारत र श्रीलंका टी-२० सिरिजपछि अब दुई खेलको टेष्ट सिरिज खेल्नेछन् । यी दुई टिमबिचको पहिलो म्याच चार मार्चदेखि सुरु हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्