ओलम्पिकमा स्वर्ण पदक ल्याउने खेलाडीलाई २ करोड नगद राशीले सम्मान गर्छौं : मन्त्री अथक



काठमाडौं। सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज (अथक) ले खेलाडीहरूको हौसला बढाउने उद्देश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन्।

मंगलबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) द्धारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री अथकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीहरूको पुरस्कार सुनिश्चितताका लागि मन्त्रालयले पुरस्कार सम्बन्धि कार्यविधि तयार गर्न लागेको बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री अथकले ओलम्पिकमा स्वर्ण पदक ल्याउने नेपाली खेलाडीहरूलाई २ करोड नगद राशिले सम्मानित गर्ने उद्घोष समेत गरे। “मन्त्रालयले ओलम्पिक मेडलिष्ट खेलाडीलाई २ करोड नगदराशीले पुरस्कृत गर्ने गरी कार्यविधि बनाईरहेको छ”, मन्त्री अथकले भने, “उक्त राशि बढाउन थप प्रयास गर्नेछु।”

नेपाली खेलाडीहरूले पछिल्लो समय विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आए पनि ओलम्पिकमा भने कुनै प्रतिफल ल्याउन नसकेको प्रति ईगित गर्दै मन्त्री अथकले भने, “तपाईहरुले खेलका विभिन्न पहाड चढ्नुभएको छ, अब खेल क्षेत्रको सगरमाथा (ओलम्पिक) चढ्ने उद्धेश्य राख्नुहोस।”

सरकारले खेलकुदलाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेको अनुभूती भएको बताउँदै मन्त्री अथकले उक्त दृष्टिकोण बदल्न समेत खेलाडी तथा खेल सङ्घहरू लाग्नुपर्ने बताए। मंगलबार ललितपुरको गोदावरी नगरपालिकास्थित बज्र वाराही मन्दिर परिसरमा भएको १६ औँ एनएनआइपिए स्पोर्टस अवार्डमा विभिन्न २७ विधागत खेलका १५ पुरुष र १२ महिला उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भएका छन्। जसमध्ये राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बिराज महर्जन एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्