सिंचाइमा खपत हुने विद्युत निःशुल्क बनाउँछु : मन्त्री भुसाल



काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत् महसुल निःशुल्क बनाउने घोषणा गरेकी छन्। उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिँचाइमा खपत हुने विद्युत् महसुल निःशुल्क बनाउने लक्ष्य लिएको स्पष्ट पारिन्।

शुक्रवारबाट काठमाडौँमा सुरु भएको नेपाल हस्तकला महासङ्घको ४१औँ वार्षिक साधारण सभामा मन्त्री भुसालले गत मङ्सिर १ गतेदेखि सिँचाइमा खपत हुने विद्युत्को शुल्क ५० प्रतिशत घटाएको उल्लेख गरिन्। उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउन आफू लागि परेको बताइन्। नेपालमा उत्पादन हुने वस्तुहरू आयात नगर्न पनि व्यवसायीसँग आग्रह गरिन्।

नाफा हुन्छ भन्दैमा प्लास्टिकका फूलहरू आयात गर्ने काम व्यवसायीहरूले गर्न नहुने उनको भनाइ थियो। उद्योगीहरूले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउने खालको वस्तुहरूको उत्पादन र बिक्री वितरणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका वस्तुहरूको निर्यातमा जोड दिनुपर्ने बताइन्।

‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौँ। राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने व्यवसाय गरौँ। हाम्रो देशभित्र उत्पादन हुने वस्तु चाहिँ आयात नगरौँ,’ उनले भनिन्, ‘अहिले साढे २ खर्बको वार्षिक रूपमा खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ। त्यसलाई रोक्नका लागि कृषिमा आत्मनिर्भर बनौँ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्