५१ हजार राशी सहित पत्रकार एलबी बिस्वकर्माको परिवारलाई सहयात्रा क्यानाडाबाट सहयोग



काठमाडौँ – पत्रकार लबी विश्वकर्मालाई मरणोपरान्त सहयात्रा सम्मान–२०२२ समर्पण गरिने भएको छ । ५१ हजार राशिसहित परिवारलाई सम्मानपत्र प्रदान गरिने सहयात्राका क्यानडा अध्यक्ष सन्तोष विश्वकर्माले जनाएका छन् । सहयात्रा सम्मान दलित अधिकारकर्मी रेसमबहादुर सुनारको सम्झनामा स्थापित सम्मान हो । सोमबार ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धका सन्दर्भमा ‘जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि अन्तर्राष्ट्रिय सामाजिक अभियन्ताहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दै उक्त सम्मान घोषणा गरिएको हो । हाल क्यानडामा अध्ययनरत सन्तोष विश्वकर्माको सभापतित्वमा भएको अन्तर्क्रिया कार्यक्रममा लबी विश्वकर्माको परिवारको पनि सहभागिता थियो । केही दिनमै काठमाडौँमा एक कार्यक्रम गरेर सम्मान प्रदान गरिने सन्तोष विश्वकर्माले बताए । दुई महिनाअघि अल्पायुमै निधन भएका लबी विश्वकर्माका पाँच वर्षीय एक छोरा, श्रीमती छन् । सामाजिक न्यायका लागि प्रतिबद्ध लबी विश्वकर्माले आफू बिरामी भएकै बेलामा बाजुराकी सप्पा नेपालीले आफ्ना चार सन्तानसहित नदीमा हाम फालेको विषयमा लेख लेखेका थिए । उक्त लेख प्रकाशित भएकै दिन अस्पतालमै उपचार अभावमा उनको निधन भएको थियो । फाउन्डेसनका क्यानडा अध्यक्ष सन्तोष विश्वकर्माले लबी विश्वकर्माले लेखेका लेख–रचना समेटेर पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको पनि जानकारी गराएका छन् । जातीय विभेदविरुद्धको दिवसका सन्दर्भमा सोमबार भएको भर्चुअल कार्यक्रममा संसारका विभिन्न देशबाट सहभागिता थियो । क्यानडाका सांसद तथा क्यानडा न्यु डेमोक्र्याट्सका नेता जगमित सिंहले कार्यक्रममा शुभकामना सन्देश दिएका थिए । जातका आधारमा हुने विभेद र असमानताविरुद्ध आफू र आफ्नो पार्टी सहयात्रामा रहेको बताउँदै नेपाली कम्युनिटीले गरेको कार्यक्रमको सह्राना गरेका थिए । क्यानडाका लागि नेपालका राजदूत भृगु ढुङ्गानाले प्रमुख अतिथिको आसनबाट शुभकामना सन्देश दिँदै आफ्नो तर्फबाट विभेदविरुद्धका मुद्दामा समन्वय हुने बताए । कार्यक्रममा दलित अधिकारकर्मी, मानवअधिकारकर्मी तथा लेखक, चिन्तक, कलाकारको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल दलित इन्फो इन्टरन्यासनल नेटवर्कका संस्थापक डा. द्रोण रसाइलीले जातीय विभेदले नेपाली समाजमा जरो गाडेको बताउँदै यसबाट उम्कन सबै मिलेर सङ्घर्ष र सहयात्रा गर्न आग्रह गरेका थिए । रसाइली २०२८ सालका एसएलसी नेपाल प्रथम हुन् । पत्रकार एलबीका बुवा नन्दराम टमाटा अछामबाट जोडिएका थिए । भाइ गौतम टमाटाले दाइलाई सम्झेकामा धन्यवाद दिएका थिए । दाइको निधन भएको दुई महिना हुँदासम्म क्षतिपूर्तिदेखि अन्य खाले सहयोग नमिलेको उनको गुनासो थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्