धनगढी सुपरलिग:देउखुरी वारियर्स दाङको सानदार जित



कैलाली । धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगितामा दाङको देउखुरी वारियर्स क्रिकेट क्लबले सानदार जित निकालेको छ । बिहीबार भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै देउखुरी वारियर्सले जित निकालेको हो । 

टस जितेर ब्याटिङ थालेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनको योगफल तयार गय्रो । धनगढीका लागि अरुण ऐरीले ३२, खगेन्द्र जोशीले २३ र भोजराज भट्टले २१ रनको योगदान दिए भने अन्य ब्याट्सम्यान खासै  चल्न सकेनन् । बलिङ तर्फ देउखुरी वारियर्सका प्रतिश जिसीले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए ।

१ सय १५ रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको देउखुरी वारियर्सले ११.५ ओभरमा १ विकेट मात्र गुमाएर लक्ष्य भेट्टायो । उसका सुरुवाती ब्याट्सम्यान प्रज्वल थापा र विराट भण्डारीले ८७ रनको उत्कृष्ट साझेदारी गरे । देउखुरी वारियर्सलाई जित दिलाउन प्रज्वल थापाले ७ चौका र ६ छक्काको मद्दतमा ७७ रनको अविजित योगदान दिए ।  
१० औँ ओभरमा विराट भण्डारी २४ रन बनाएर बोल्ड आउट हुन पुगेपनि धनगढीका लागि देउखुरी वारियर्स भारी पय्रो । खेलमा उत्कृष्ट रन जोडेका प्रज्वल थापा प्लेयर अफ दी म्याच घोषित भएका छन । 

यो जित सँगै देउखुरी वारियर्सले २ खेल जित्दै उपाधीको सम्भावना बलियो बनाउदै गईरहेको छ । लिग चरणको अन्तिम खेलका लागि दाङको देउखुरी वारियर्स शुक्रबार महेन्द्रनगर क्रिकेट एकेडेमी सँग भिड्ने छ । उक्त खेलमा बिजयी बन्ने टिम सोझै फाईनल प्रबेश गर्नेछ र उपाधीका लागी लिटल फ्लावर स्पोर्ट्स धनगढी  सँग प्रतिस्पर्धा गर्नेछ । लिटल फ्लावर यस अघि नै ५ मध्य ३ खेलमा जित निकाल्दै ७ अङकसहित फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरूले प्रतिष्प्रधा गरेका छन । बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब कैलाली र कैलाली जिल्ला क्रिकेट क्लबको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।
Tek Bahadur

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्