केही दिनमै निर्वाचनको मिति घोषणा हुन्छ : प्रचण्ड



काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका छन्।

पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष दाहालले संघीय निर्वाचनको तयारी भइरहेको र एकाध दिनमै मिति घोषणा हुने बताएका हुन्। प्रचण्डले भने, ‘प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने कुरा गर्नुभएको छ। मैले संघीय संसद्मा विचाराधिन केही विधेयकलाई टुङ्गो लगाएर मात्रै घोषणा गरौँ भनेर आग्रह गरेको छु।’

उनले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजाने र त्यसमा कुनै पनि दायाँबायाँ नहुने जानकारी दिए। उनले गठबन्धनलाई कायम राखेर विचार मिल्ने पार्टी र शक्तिसँग पनि मिलेर अगाडि बढ्ने स्पष्ट पारे। उनआफूले पार्टीका नेताहरुलाई पनि गठबन्धनबाट दायाँबायाँ नहुने बताइसकेको र त्यसमा कुनै तलमाथि नहुने स्पष्ट पारेको बताएका थिए।

उनले परिवर्तनका सबै एजेण्डाको कार्यान्वयनका लागि पनि माओवादीले निर्वाचन जित्नै पर्ने धारणा राखेका थिए। ‘माओवादी कमजोर हुँदा परिवर्तनका एजेण्डा समस्यामा पर्न थालेका छन्। देश, जनता र परिवर्तनको एजेण्डालाई मूर्त रुप प्रदान गर्न पनि माओवादीले जित्नै पर्छ,’ उनले भने। प्रचण्डले पार्टी स्थायी समितिको जारी बैठकबाटै पदाधिकारी चयन गरिने बताएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्