फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर: जातीय विभेदको दर्दनाक पाटो



 

फिल्मको लम्बाईमा संवादसहित निर्माण भएको गीति फिल्म ‘मानिस ठुलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ ।

राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेदको दर्दनाक पाटोलाई देखाइएको छ । फिल्मका अभिनेता अविनाश न्यौपाने र अभिनेत्री श्रेया कार्कीबिचको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।

सौर पानी मिडिया प्रा।लि।को ब्यानरमा निर्माण भएको फिल्मलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् भने मणि नेपाली पनेरु निर्माता हुन् । निर्माता पनेरुले लेखेका ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण भएको हो । फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको पनि अभिनय छ । फिल्मको ट्रेलर इन्टरनेटमा भने केही समय पछि रिलिज गरिने निर्देशक पाण्डेले बताए ।

क्यानडाको लागि नेपाली सांस्कृतिक दूतसमेत रहेका पूर्ण नेपालीको एकल सङ्गीतमा रहेका फिल्मका गीतहरूमा राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुन लगायतका गायक गायिकाहरुको स्वर रहेको छ । फिल्मको ट्रेलर सार्वजनिक गरिए पनि प्रदर्शन मिति भने घोषणा गरिएको छैन । नेपालअघि फिल्मलाई अमेरिका लगायतका राज्यमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता पनेरुद्वारा लिखित चार कृतिहरू उपन्यास ‘सात जुनी’, बाल कविता सङ्ग्रह ‘हाम्रो झन्डा’ गीति सङ्ग्रह ‘स्वर्गको गाथा’ र कविता सङ्ग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकार्पण गरिएको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनेरुको चार वटै कृतिको एकसाथ लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पणपछि मन्त्री कार्कीले सात समुन्द्र पारी बसेर पनि मणि नेपाली पनेरुले नेपाली कला, साहित्यमा पुर्‍याएको योगदानको प्रशंसा गरे । कला, साहित्यले नै संसारभर नेपाललाई चिनाउने उनको भनाई थियो ।नेपाल विश्व सहयोग सङ्घ र सौर पानी मिडियाको आयोजनामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई समेत सम्मानित गरियो । साहित्यकार तथा प्राध्यापक डा. राम प्रसाद ज्ञवाली, समाजसेवी कैलाश कुमार पनेरु, कलाकार मोहन निरौला, फिल्म पत्रकार जीवन पराजुली, निर्देशक देवेन्द्र पाण्डे, कलाकार उत्तम केसी, नेपाल शिक्षक सङ्घका राजेन्द्रराज पौडेल, गायक पूर्ण नेपाली, मोडल श्रेया कार्की, कलाकार अविनाश न्यौपानेलगायतलाई मन्त्री कार्कीले सम्मान पत्र प्रदान गरेका थिए ।

‘मानिस ठुलो दिलले हुन्छ’को कथा तथा शब्द रचना निर्माता पनेरु स्वयंको हो । फिल्ममा कृष्ण पुनको ब्याक ग्राउन्ड स्कोर, वसन्त गोर्खाली प्रोडक्सन म्यानेजर, साहिल खानको ट्रेलर, देवेन्द्र पाण्डेको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्