जातीय बिभेद गर्ने पण्डितलाई कारवाहिको माग गर्दै अधिकारकर्मी पुगे प्रहरी कार्यलय



महेन्द्रनगर । महाकाली नदीको भुजेला घाटमा बिहीबार दलित समुदायका व्रतालु महिलाहरूको पूजापाठ गर्न अस्वीकार गर्ने पुजारीलाई कारबाहीको माग गर्दै पीडित र अधिकारकर्मी प्रहरी कार्यालय पुगेका छन् । उनीहरूले प्रहरी प्रमुख श्याम सिंह चौधरीलाई भेटेर सार्वजनिक स्थानमा पुजारीले जातीय भेदभाव गरेकाले कारबाहीको माग गरेका छन् ।

प्रहरी उपरीक्षक चौधरीको कार्यकक्षमा उनीहरूले घट्नाबारे जानकारी गराउँदै संविधान विपरीत आफूहरूमाथि पुजारीले जातीय रूपमा अपमान हुने गरी पूजापाठ गर्न अस्वीकार गरेको बताएका छन् ।

ऋषि पञ्चमीका दिन भुजेल घाटमा थर थाहा पाएपछि भीमदत्त नगरपालिका १० का पुजारी सहदेव भट्टले भगवान्ले जात छुटाएको भन्दै पूजापाठ गर्न अस्वीकार गरेका थिए । त्यस विरुद्ध पीडित भीमदत्त नगरपालिका ५ वन गाउँकी सज्नु नेपाली सहित महिलाले प्रहरी उपरीक्षक चौधरीलाई घट्नाबारे जानकारी दिएका छन् ।उनीहरू प्रहरी कार्यालयमा पुजारी विरुद्ध किटानी जाहेरी लिएर गएका थिए ।

बिहीबार सार्वजनिक बिदाको दिन भएपछि उनीहरूको जाहेरी दर्ता गरिएको छैन । छलफलमा प्रहरी उपरीक्षक चौधरीले सार्वजनिक स्थानमा कानुनी रूपमा विभेद गर्न नपाइने भएकाले आफूले घट्नालाई गम्भीर रूपमा लिएको बताए ।‘किटानी लिएर प्रहरी कार्यालयमा गएका थियौ, सार्वजनिक बिदाको दिन भएपछि दर्ता हुन सकेन, प्रहरी उपरीक्षकज्यूसङ यसबारे छलफल भयो’ प्रहरी कार्यालय गएका अधिकारकर्मी शिविराज रानाले भने,‘वहाँले यो कानुन विपरीत कार्य हो, यसमा एक्सन लिन्छु भन्नु भएको छ ।’प्रहरी उपरीक्षक चौधरीले कार्यालय खुलेपछि जाहेरी दर्ता गरी कानुनी प्रक्रियामा जाने आश्वासन दिएको रानाले बताए ।प्रहरी उपरीक्षक चौधरीसित पीडित नेपालीले पुजारीले पूजापाठ नगर्ने भनेर दिएको अभिव्यक्ति सहितको भिडियो भएको बताएकी छन् । भुजेला घाटमा महिला र पुजारीबिच भएको कुराकानीको भिडियो बाहिर आएको छ । त्यसमा पुजारी भट्टले भगवान्ले नै जात छुट्टाएकाले आफूले पूजा गर्न नगर्ने स्पष्ट पारेका छन् ।पीडित नेपालीका अनुसार पूजापाठका लागि पुजारी भट्टसित गएका उनीहरूलाई सुरुमा गोत्र सोध्ने क्रममा थर बाहिर आएपछि उनले पूजापाठ नगर्ने बताएका थिए । त्यसपछि पुजारी र महिलाहरूबिच विवाद भएको थियो । विवादमा क्रममा महिलाहरू प्रहरी बोलाउन गएपछि उनी पुजा स्थल छाडेर भागेका थिए ।

पीडित नेपालीले प्रहरी कार्यालय खुलेको दिन जाहेरी दर्ता गर्ने बताइन् । ‘आज प्रहरी कार्यालय गएका छौ, कार्यालय खुलेको दिन जाहेरी दिन्छौ’ उनले भनिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्