काँग्रेसको असन्तुष्ट पक्षले गर्‍यो आन्दोलन घोषणा



काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला पक्षले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। काठमाडौंमा सोमबार बसेको यो पक्षधरको बैठकले पार्टी कार्यालय सानेपामा धर्ना दिने घोषणा गरेको हो।

बैठकले १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिने निर्णय गरेको छ। १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको छ।

पार्टीमा असन्तुष्ट कोइराला पक्ष पार्टीले समानुपातिक सूची बुझाउँदा १० प्रतिशत मात्र भाग दिएको भन्दै आक्रोशित भएको छ। समानुपातिक सूची सच्याउनुपर्ने माग उनीहरूको छ। पार्टीमा सम्मानजनक भाग नपाए बागी उमेदवार उठाउने तयारी अघि बढाइने बैठकमा सहभागी एक नेताले बताए।

१४ गतेसम्म सूची नसच्याए गठबन्धन हराउन अभियान नै चलाउने निर्णय गरिएको बैठकमा ती नेताले जानकारी दिए। पार्टीभित्र टिकटलगायतमा समान अवसर र दु:ख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग असन्तुष्ट पक्षको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्