नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य : राष्ट्रपति भण्डारी



काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन्। ३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शनिबार शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकी हुन्।

ज्येष्ठ नागरिक आफ्नो जीवनभरको संघर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उनले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने बताइन्।

आफ्नो जीवनको ऊर्जाशील र उत्पादनशील समय राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको जीवनलाई सहज र सुरक्षित बनाउन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्तालगायत सेवा र सुविधाको व्यवस्था गरेको जनाउँदै उनले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई थप विस्तार गर्दै लैजानुपर्ने उनको भनाइ छ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ। राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ‘ज्येष्ठ नागरिक उत्थानशीलताः बदलिँदो विश्वका लागि अपरिहार्यता’ भन्ने मूल विषय निर्धारण गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्