बाँकेको नरैनापुर आसपासका क्षेत्र जलमग्न



बाँके। लगातारको वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन्। मुख्य गरी नरैनापुरका वडाहरु १ बनियागाउँ, ४ घोडदौरिया, ५ जमुनहा, ६ दोँदरालगायतका क्षेत्रमा घरमा पानी पसेपछि जनजीवन प्रभावित बनेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए।

गाउँपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरू जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको बताए। उनले भने, ‘विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ यकिन तथ्यांक सकंलन गर्न वडा अध्यक्षसहित आफू टोल, टोलको अनुगमन गरी रहेको छु।’

वडा नं. ४ का अध्यक्ष मनोज शर्माले घोडदौरीया गाउँमा १० वटा घरमा क्षति पुगेको बताए। उनले निरन्तर परिरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेकाले सचेत हुन स्थानीयहरूलाई अपिल गरेको बताए। वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले भने कतिपय घरमा खोलाको पानी पसिसकेको बताए। समयमा पानी नपरेपछि धान बाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरवासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तीमा पस्न थालेपछि थप समस्या भएको उनले गुनासो गरे।

घरभित्रै पानी पसेपछि स्थानीयहरूले घरमा भएका सामान सार्न थालेका छन्। त्यहाँका स्थानीयले घरदेखि माथि पाल टाँगेर बस्न बाध्य भएका छन्। घरभित्र पानी पसेपछि घरदेखि माथि चौरमा पाल टाँगेर बस्नु परेको स्थानीय लियाकत साईले बताए। यता नरैनापुर गाउँपालिका अध्यक्ष शाहले निरन्तर पानी परिरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगी सकेको जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्