किरियापुत्रीलाई जातीय विभेद गरेको मुद्दामा ३ जनालाई एक बर्ष कैद र पचास हजार जरिवाना



 

                 पीडित मोहनकुमार सुनार

पोखरा- सार्वजनिक क्रियापुत्री भवनमा किरिया बस्न माग गर्दा जातीय भेदभाव भएको मुद्दामा जिल्ला अदालत कास्कीले आरोपी तीन जनालाई जनही एक वर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले सोमवार पीडक देवबहादुर थापा, रामबहादुर जिसी र जनक क्षेत्रीलाई जनही एक वर्ष कैद, जनही ५० हजार जरिवानासहित पीडित मोहनकुमार सुनारलाई एक लाख क्षतिपूर्ति
दिनुपर्ने फैसला सुनाएको हो । न्यायाधीश भट्टराईले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय ) ऐन २०६८ को दफा ७ को १ (क) अनुसार फैसला गरेकी हुन । उक्त ऐनको दफामा जातीय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय, ५० हजारदेखि २ लाख जरिवाना, पीडितलाई २ लाखसम्म क्षतिपूर्तिको व्यवस्था गरेको छ ।
पोखरा महानगरपालिका १६ वाटुलेचौरमा रहेको सार्वजनिक क्रियापुत्री भवनमा किरिया बस्नका लागि चाबी माग्दा कथित उपल्लो जातिका केही व्यक्तिहरूले स्थानीय मोहनकुमार सुनारलाई जातीय भेदभावसहित गालीगलौज गरेपछि पीडित न्यायको प्रहरी र अदालतमा पुगेका थिए । सरकारवादी मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला सहायक न्यायाधिवक्ता महेश अर्याल र पीडितकोतर्फवाट शिव सुनारले बहस गरेका थिए ।
घटनाको साढे दुई बर्सपछि फैसलाले न्याय मिलेको पीडित मोहनका छोरा प्रकाश सुनारले बताए । उनले न्यायका पक्षमा उभिने अदालत, अधिकारकर्मी, सञ्चारकर्मी सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे । पोखराको वाटुलेचौरमा २०७६ साल चैत २७ र २०७७ वैशाख १४ गते किरिया पुत्री भवनको चाबी माग्दा मोहन सुनारलाई भेदभाव गरिएपछि पीडितले वैशाखको १८ गते जाहेरी दिएका थिए । जाहेरी दिएको केही समयपछि प्रहरीले आरोपिहरुलाई पक्राउ गरेर अदालतमा थुनछेकको बहस हुँदा उनीहरू जनही १ लाख ७० हजार धरौटीमा रिहा भएका थिए । पीडितको तर्फवाट बहस गरेका शिव सुनारले अदालतको फैसलाले जातीय विभेदमा परेका पीडितलाई न्याय दिदै भेदभावका विरुद्ध सकारात्मक सशक्त सन्देश दिएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्