जनताको तहसम्म परिवर्तन पुगेको छैन : पूर्वराष्ट्रपति यादव



भक्तपुर। पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन्।

मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति यादवले भने, ‘नेपालमा विसं २००७, २०१७ साल र त्यसपछि पनि धेरै क्रान्ति भए। देशमा संविधान पनि राम्रै बन्यो, मैले त्यसमा भूमिका राम्रै निर्वाह गरे तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन सकिएको छैन। जनताको तहसम्म परिवर्तन पुगेको छैन।’

असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताउँदै उनले स्व राणाको छोरा असल रहेको नमूना प्रस्तुत गरेको चर्चा गरे। पूर्वराष्ट्रपति यादवले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही ५१ हजारसहित वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे।

सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहितको थैली प्रतिष्ठानका अध्यक्ष कविर राणाले प्रदान गरे। राणा परिवारले एसएलसी उत्तीर्ण गरेको विद्यालय आदर्श माध्यमिक विद्यालय, सानोठिमीका पूर्वविद्यार्थी समाजका अध्यक्ष सुवासचन्द्र ढुङ्गेल र स्व राणाले अध्ययन गरेको बैंकोटेश्वर गुरुकूल विद्यालयलाई ५१ हजारसहित छात्रवृत्ति कोष स्थापना गर्न अध्यक्ष राणाले नगद हस्तान्तरण गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्