नागरिकमा उत्साह जगाउन भूमिका खेल्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल



काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा उत्साह जगाउन राष्ट्राध्यक्षको हैसियतबाट आफूले भूमिका खेल्ने बताएका छन्। काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा रहेको बिपी संग्रहालयमा आज बिपी कोइरालालगायतका नेताको शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा उनले जनतामा आशा र उत्साहको सञ्चार गरेर मुलुकमा नयाँ जागृति ल्याउनुपर्ने बताए।

राजनैतिक स्थायित्व र मुलुकको सुशासनमा सबैको ध्यान जान आवश्यक रहेको उनले सुनाए। बिपी कोइराला लगायतका नेताप्रति सम्मान व्यक्त गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले जनताले प्राप्त गरेको अधिकारमाथि कसैले पनि खेलबाड गर्न नहुने र संविधानको संरक्षकको भूमिकामा रहेर आफूले त्यो भूमिका निर्वाह गर्ने बताए।

नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, देवानसिंह राई र योगेन्द्र शेरचनको शालिकमा उनले माल्यार्पण गर्नुका साथै जकरण्ड नामको वृक्षारोपण गरेका थिए।

त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बिपी संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, वाग्मती प्रदेशसभा सदस्य विमल ठकुरीलगायत संग्रहालय समितिका पदाधिकारी र सदस्यले स्वागत गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्