साउदी दूतावासले फेरि लगायो शैक्षिक प्रमाणपत्रको नियम



काठमाडौं : नेपालस्थित साउदी अरेबियाको दूतावासले वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको भिसाका लागि परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने नियम पुनः लगाएको छ ।

गत जुन १२ तारिखदेखि रोजगारीका लागि साउदी अरेबिया जाने कामदारहरूले परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने नियम सार्वजनिक गरेको थियो ।

त्यसमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले चर्को विरोध गरेपछि दूतावासले माथिल्ला पदहरूमा प्रमाणीकरण भएको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने भएपनि लेबर भिसामा जाने कामदारको हकमा प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य नगरिएको जनाएको थियो । त्यसपछि दुई हप्ता सहजरूपमा भिसा प्रदान गरिएको थियो ।

तर आइतबारदेखि दूतावासले पुनः भिसाका लागि प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । दूतावासले आधिकारिकरूपमा केही जानकारी नदिएपनि भिसा नदिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साउदी समस्या समाधान समितिका संयोजक वैकुण्ठ प्रसाद पौडेल ‘वैभव’ले मध्यान्हलाई जानकारी दिए ।

बकर ईदका कारणले साउदी अरेबियामा लामो बिदा परेको छ । पेश भएका राहदानीमा मंगलबार भिसा नलागेमा बकर ईदपछि मात्रै भिसा लाग्ने अवस्था छ । संयोजक पौडेलले भिसाको समस्या सिर्जना भएलगत्तै आफ्नो सम्पर्क सुत्रबाट समस्या समाधानका लागि पहल गरेको तर दूतावासले बकर ईदका कारण धेरै कर्मचारी बिदामा गएको भन्दै समस्या समाधानका लागि गाह्रो रहेको जवाफ दिएको बताए । पौडेलले मंगलबार दूतावासमा सम्पर्क गरेर शैक्षिक प्रमाणपत्र अनिवार्य नगर्न पुनः आग्रह गर्ने जानकारी दिए ।

संघले भिसाका लागि शैक्षिक प्रमाणपत्र माग गर्ने साउदी दूतावासको निर्णय अव्यवहारिक भएको भन्दै विरोध गरेका छ । अदक्ष नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक साउदी अरेबियामा हाल ६ सय बढी वैदेशिक रोजगार व्यवसायीले कामदार पठाउने गरेका छन् । तर उक्त मुलुकसँग कामदार आदानप्रदानसम्बन्धी द्विपक्षीय श्रम सम्झौता हुन नसकेका कारण दूतावासले पटक–पटक नयाँ बहानाबाजी गरेर दुःख दिएको व्यवसायीहरूले गुनासो गर्ने गरेका छन् ।

संघले नेपालबाट साउदी अरेबियालगायत खाडी मुलुक र मलेसियामा रोजगारी गर्न जाने अधिकांश नेपाली कामदार अदक्ष रहेको र उनीहरू पुस्तौनी र परम्परागत काममा निपूर्ण रहेकाले उनीहरूलाई शैक्षिक प्रमाणपत्र अनिवार्य गर्नु प्रकारान्तरले रोजगारीबाट बञ्चित गर्ने प्रपञ्च भएको बताएको छ ।

साउदी समस्या समाधान समितिका संयोजक पौडेलले कामदारको योग्यता तोक्ने काम दूतावासको नभई कामदारलाई रोजगारी दिने कम्पनीको विषय भएको भन्दै शैक्षिक प्रमाणपत्र माग गर्ने दूतावासको नीति आर्थिक र व्यवहारिक दृष्टिकोणले समेत अनुचित र झन्झटिलो रहेकोे टिप्पणी गरे ।

उनले यसअघि लेबर भिसामा जाने नेपाली कामदारलाई शैक्षिक प्रमाणपत्र अनिवार्य नगर्न पटक–पटक ध्यानाकर्षण गराएको भएपनि दूतावासले साउदी सरकारको निर्णय भन्दै प्रमाणित शैक्षिक प्रमाणपत्र अनिवार्य गरिएको जवाफ दिइरहेको बताए ।

पौडेलले साउदीका समस्या गम्भीर भएपछि ठोस निर्णय लिनुपर्ने भएकाले मंगलबार संघ कार्यालयमा कार्यसमिति र घटक संस्थाका प्रतिनिधिको संयुक्त वैठक बोलाइएको जानकारी दिए । उनले उक्त बैठकमा यस विषयमा गम्भीरताका साथ छलफल गरेर परराष्ट्र मन्त्रालयमार्फत अघि बढ्ने प्रारम्भिक धारणा रहेको जानकारी दिए ।

कतिपय व्यवसायीले भने साउदी अरेबियाको आर्थिक विकासमा नेपाली कामदारको उच्च योगदान भएपनि दूतावासका पछिल्ला कदम र व्यवहार कामदार तथा वैदेशिक रोजगार व्यवसायीलाई अपमानित गर्ने प्रकृतिको देखिएकाले दूतावास लचिलो नबनेको अवस्थामा नेपाली कामदार पठाउन रोक्नुपर्ने बताएका छन् । मध्यान्न दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्