निःशुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न निर्देशन



काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई उपलब्ध गराएको निःशुल्क उपचारको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ।

मन्त्रालयका महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले संघीय अस्पताल, प्रादेशिक अस्पताल, प्रतिष्ठान, सामुदायिक निजी तथा गैरसरकारी अस्पताललाई परिपत्र गर्दै गरिब, विपन्न नागरिकलाई उपलब्ध गराएको १० प्रतिशत शय्याको विवरण मन्त्रालयले तयार पारेको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गराउन निर्देशन दिएका छन्।

‘स्वास्थ्य सेवा ऐन, २०७५, जनस्वास्थ्य सेवा नियमावली, २०७७ तथा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० को खण्ड (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या छुटयाई निःशुल्क उपचार अनिवार्य उपलब्ध गराउनुपर्ने भन्ने व्यवस्थाअनुसार अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध गराएको दैनिक विवरण मन्त्रालयको तयार पारेको प्रणालीमा अनिवार्य प्रवृष्ट गर्नुहुन अनुरोध छ,’ परिपत्रमा भनिएको छ।

मन्त्रालयले आर्थिकरूपमा कमजोर नागरिकलाई दृष्टिगत गर्दै निःशुल्क स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने प्रत्येक अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गर्ने स्वास्थ्यसम्बन्धी ऐन तथा नियमावलीमा व्यवस्था गरेको हो।

मन्त्रालयले सबै अस्पताललाई अनिवार्यरूपमा १० प्रतिशत निःशुल्क गरिब, असहायलाई उपलब्ध गराउन सबै अस्पताललाई निर्देशन दिइसकेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्