सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति



काठमाडौं। आन्दोलनरत राहत शिक्षक र सरकारबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार दिउँसो भएको छलफलमा सहमति जुटेको हो।

राहत शिक्षक, बाल सहजकर्ता र विद्यालय कर्मचारीको माग सम्बोधन गर्न शिक्षा मन्त्रालय तयार भएपछि सहमति जुटेको हो। राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिका तर्फबाट राहत शिक्षक, बाल सहजकर्ता र विद्यालय कर्मचारीले राखेका माग शिक्षा मन्त्रालयमा पेश गरिएको छ।

उनीहरूको सेवा, सुविधा वृद्धि गर्न, बाल विकासलाई विद्यालय शिक्षामा समावेश गर्न, विद्यालय कर्मचारी दरबन्दी सिर्जना गर्न संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयक संशोधन गर्न सरकार सहमत भएको हो। सहमतिसँगै राहत शिक्षकले आन्दोलन फिर्ता लिने भएका छन्। उनीहरू काठमाडौं केन्द्रित आन्दोलन फिर्ता गरी विद्यालयको पठनपाठन सञ्चालन गर्न सहमत भएका हुन्।

सहमति पत्रमा आन्दोलन शिक्षकका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रतिनिधि, नेपाल शिक्षक महासंघमा आवद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। यसअघि सरकारले शिक्षक महासंघसँग सहमति गरेको थियो। तर, आफ्ना माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आन्दोलन जारी राखेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्