छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ९ पक्राउ



काठमाडौं। कैलालीको गोदावरी नगरपालिका-९ सेहरी भन्ने गाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित हरिद्वारी रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका-११ वेलादेवीपुरका ३५ वर्षीय रानालाई पदार्थसहित प्रहरीले पक्राउ गरेको हो।

यसै गरी अर्को एक घटना अनुसार झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित बिर्तामोड नगरपालिका-८ बस्ने १९ वर्षीय विवेक जवेगुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आइरहेका अवस्थामा जवेगुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

अर्को एक घटना अनुसार पर्सा, विन्दवासिनी गाउँपालिका-५ प्रसौनीस्थित सडकबाट गाँजा करिब ४ केजीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने ४२ वर्षीय लोटन राउत र ४० वर्षीय देवलाल साह कलवार रहेका छन्। प्रहरी चौकी प्रसानीभाटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

यसै गरी तनहुँ, आबुखैरेनी गाउँपालिका(४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४ सय ३५ ट्याब्लेट सहित पर्सा छिपरमाइ गाउँपालिका- २ जयमंगलपुर बस्ने २८ वर्षीय सुखलाल मुखियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप समेतबाट खटिएको प्रहरीले ग १ ख ००८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त ट्याब्लेटसहित पक्राउ गरेको हो।

यस्तै अर्को घटना अनुसार मोरङ, केराबारी गाउँपालिका-१० सुनौलो चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ७० मिलिग्रामसहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेकाहरूमा सोही गाउँपालिका(१० बस्ने २३ वर्षीय विजय मगर, २६ वर्षीय असीम देवान, ३३ वर्षीय असीम मगर र सोही गाउँपालिका-७ बस्ने २४ वर्षीय अबिसेक लिम्बु रहेका छन्।

लागूऔषध ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गर्‍यो। मोरङ जिल्लाकै जहदा गाउँपालिका(१ यादव टोलस्थित बाँसको घारीबाट बेवारिसे अवस्थामा राखिएको अवैध लागूऔषध गाँजा करिब ४ केजी बिहीबार साँझ प्रहरीले बरामद गर्‍यो।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी तथा बुधनगर र अस्थायी प्रहरी पोष्ट भटडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो। यस बेला सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्