नेकपा विभाजन गर्नु भूल थियो भन्ने कुरा पुष्टि भयो : बामदेव गौतम



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाएका छन्। उनले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ सत्ता गठबन्धनले सही राजनीतिक दिशा लिएको भन्दै समर्थन गरेका हुन्।

सोमबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ सत्ता समीकरण बनेको छ। नेता गौतमले २०७७ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्नु एउटा भूल थियो भन्ने कुरा नयाँ सत्ता समीकरणले पुष्टि गरेको पनि सो विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले यो सत्ता समीकरणबाट सत्ता स्वाद लिन जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुने र अब वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने अपेक्षा गरिएको पनि विज्ञप्तिमा जनाएका छन्। एमालेका पूर्वउपाध्यक्ष नेता गौतम नेकपा विभाजनपछि कुनै पार्टीमा संलग्न नरही बाम एकताको अभियानमा लागेका छन्। उनी हाल राष्ट्रियसभाका सदस्य हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्