नयाँ गठबन्धनको यात्रा अविराम र अविचलितरुपमा अघि बढ्छ : उपाध्यक्ष पौडेल



काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेता पौडेलले संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरू मिलेर सरकार बनाइनु स्वाभाविक भएको बताए। उनले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने नभई संसद्भित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे।

यही फागुन २१ गते एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीबीचको सहमतिबाट सरकार पुनर्गठन भएको थियो। सरकारमा नेकपा (एकीकृत समाजवादी) पनि सहभागी भएको छ।

नेता पौडेलले आफ्नो विगतको तीतो यात्रालाई समीक्षा गर्दै मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन आरम्भ गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुभकामना दिँदै यो यात्रा अविराम र अविचलितरुपमा अघि बढोस् भन्ने कामना गरे।

‘प्रधानमन्त्री दाहालबाट विगतको गठबन्धनका समस्यालाई खुलस्तरुपमा राखेर सहज र संविधानसम्मतरुपमा विकल्प खोज्ने काम भएको छ। यसलाई सबै दलले सहज र स्वभाविकरुपमा लिनुपर्छ,’ नेता पौडेलले भने, ‘अहिले प्रतिपक्षमा पुगेको नेपाली काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ। अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रित रहन्छ। यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्नेछ।’

आर्थिक मन्दीका कारण जनताका निराशा र असन्तुष्टिलाई सम्बोधन गर्दै प्रतिपक्षका जायज मागलाई सुनेर सरकारले आशावाद सिर्जना गर्ने काम गर्ने उनको भनाइ छ। नेता पौडेलले विद्यमान संवैधानिक प्रबन्धअनुसार कुनै एक दलको बहुमत आउन कठिन अवस्था रहेको उल्लेख गर्दै जनताको विश्वास जित्दै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्