नाउपाको अध्यक्षमा चौधरीलाई आयोगले दिएन मान्यता



काठमाडौं। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ। निर्वाचन आयोगले बिहीबार निर्णय दिँदै चौधरीलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो।

नाउपाले गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा उनलाई चयन गरेको थियो। महाधिवेशनको निर्णयअनुसार केन्द्रीय समिति अद्यावधिक गर्न आयोगमा निवेदन दिइएको थियो। तर, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय भएको छ।

कैलालीको टीकापुरमा २०६२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक झडपमा जन्मकैदको सजाय पाएका रेशम चौधरी गत १५ जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएका थिए। कारागारमै रहेका बेला आफ्नो सक्रियतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीको अधिवेशन गरेर रेशमले आफैँ अध्यक्ष बनेका थिए।

निर्वाचन आयोगमा दलको अभिलेख अद्यावधिक गर्न दिएको निवेदनविरुद्ध उजुरी परेपछि आयोगले नाउपा र अध्यक्ष चौधरीसँग जवाफ मागेको थियो। आयोगले उनलाई सदस्य बन्न योग्य हो कि होइन भनी प्रश्न गरेको थियो। त्यस विषयमा चौधरीले जवाफ पठाएपछि बिहीबार दलको अभिलेख अद्यावधिक गर्न नसक्ने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए।

आयोगले अदालतबाट ज्यानसम्बन्धी कसुरमा जन्मकैदको सजाय पाई सोको अन्तिम लगत कायम रहेको व्यक्तिलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ (२) को खण्ड (ख) बमोजिम दलको सदस्य बन्न योग्य छन् भनी भन्न अस्वीकार गरेको छ। दलको सदस्य नै बन्न अयोग्य नरहेको व्यक्ति अध्यक्ष बन्न नमिल्ने निर्णय आयोगले गरेको छ। निर्वाचन आयोगमा भएको अभिलेखमा नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन्।

निर्वाचन आयोगले नाउपाको अध्यक्षमा मान्यता नदिने निर्णय गरेपछि चौधरीले कडा प्रतिक्रिया दिएका छन्। उनले निर्वाचन आयोगको यो निर्णयलाई नाउपा सिध्याउने खेल भनेका छन्। उनले पटक-पटक न्याय मरे पनि आफू नमरेको टिप्पणी गरेका छन्।

‘नागरिक उन्मुक्ति पार्टी सिध्याउने खेल। हामी हरेस खान्नौं। पटक-पटक न्याय मरे पनि म मरेको छैन। चाल बुझेको थिएँ, बाघचाल हो भन्ने थाहै भएन। बाघ बुढो भएपछि बस्तीमा पस्छ रे, बस्तीमा गोरु खान पल्केका सबै बाघ वनमै फर्किन्छन् भन्ने कुनै ग्यारेन्टी हुन्न,’ चौधरीले फेसबुकमा लेखेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्