दूरदराजमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् : सभापति देउवा



काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरूक बनाउन आवश्यक रहेकामा जोड दिएका छन्।

एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस दिवसले त्यसमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उनले उल्लेख गरे।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै उनले उनीहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्। आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र संवर्द्धनका लागि महिला दिदी बहिनीको अझ महत्त्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने विश्वास व्यक्त गर्दै सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्