रुकुमपश्चिमका भूमिहीन लाभग्राहीलाई निस्सा वितरण



रुकुमपश्मिम। रुकुमपश्चिमका दुई हजार एक सय ६७ भूमिहीन लाभग्राहीलाई निस्सा वितरण गरिएको छ। जिल्लाका छमध्ये पाँच स्थानीय तहका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित लाभग्राहीलाई राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले निस्सा वितरण गरेको हो।

जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा एक हजार ४३ र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा एक सय आठ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको भूमी आयोगका अध्यक्ष मीनबहादुर ओलीले जानकारी दिए।उनका अनुसार चौरजहारी नगरपालिकामा चार सय ९६ तथा सानीभेरीमा तीन सय २४ र बाँफीकोट गाउँपालिकामा एक सय ९६ लाई निस्सा वितरण गरिएको छ। मुसीकोट नगरपालिकामा पहिचान भएका ५३ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित लाभग्राहीलाई केही दिनभित्र निस्सा वितरण गरिने अध्यक्ष ओलीले जानकारी दिए।

जिल्लाका सबै स्थानीय तहको लगत सङ्कलन भई डाटाइन्ट्री सम्पन्न भइसकेको आयोगका भूमि विज्ञ सदस्य सुशील विष्टले जानकारी दिए। उनका अनुसार निस्सा प्राप्त गर्ने व्यक्ति उपर दाबी विरोध उजुरी गर्न भूमिहीन दलित र सुकुम्बासीलाई सात दिन र अव्यवस्थित बसोबासीलाई १५ दिनको सूचना प्रकाशन गरी छानबिन भइरहेको छ।

त्यस्तै वडास्तरबाट भूमिहीनका लागि उपलब्ध गराउने जग्गाको छनोट तथा व्यस्थापन गरी स्थानीय तहबाट जिल्लामा पठाउने कार्य जारी छ। जिल्ल्लामा अब भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने, जग्गा नापजाँच गर्ने र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न बाँकी रहेको विज्ञ सदस्य विष्टले बताए। भूमिहीनलाई निस्सा वितरणसँगै भूकम्पपछि अस्थायी आवास निर्माण, सरकारी सेवा सुविधालगायत अन्य सेवा लिनसमेत सहज भएको उनको भनाइ छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्