१० औ राष्ट्रपति रनिङ शिल्डमा माबि गोर्खा बिजयी



दाङ, चैत २४ । संघीय निर्वाचन क्षेत्र नं. ३ स्तरीय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७४ को उपाधि गोरखा माध्यमिक विद्यालय तुलसीपुरले हात पारेको छ । योसँगै गोरखा माविले लगातार २ वर्ष रनिङ शिल्डको उपाधि चुम्न सफल भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा अवस्थित बिरेन्द्र माध्यमिक विद्यालय भ्यूडहर सुनपुरमा चैत १९ देखि २३ गतेसम्म भएको रनिङ शिल्ड प्रतियोगितामा गोरखा माविले नगद १० हजारसहित उपाधि चुम्न सफल भएको हो । उक्त रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय दोस्रो र गुरु जजुर माध्यमिक विद्यालयले तेस्रो स्थान हात पार्न सफल भएको छन् ।

चैत १९ गते तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको कार्यक्रमको समापन उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले गर्नुभएको छ । क्षेत्र नं. ३ अन्तर्गतका ३१ विद्यालय सहभागी भएको उक्त प्रतियोगितामा छात्रातर्फ १०० मि. दौड, ४०० मि. दौड, ४×१०० मि. रिले दौड, ४×४०० मि. रिले दौडमा गोरखा विजयी भएको हो ।

त्यस्तै छात्रतर्फ २०० मि. दौड, ४०० मि. दौड, ८०० मि. दौड, ४×१०० मि. रिले दौड, ४×४०० मि. रिले दौडमा समेत विजयी भई जिल्ला स्तरिय प्रतियोगितामा सहभागीता सुनिश्चित भएको विद्यालयका खेलुकुद शिक्षक मोहन स्वर्णाकारले बताउनुभयो । विगतका वर्षदेखि नै रनिङ शिल्डको उपाधि दिलाउन विद्यार्थीलाई खेलकुदको तयारी गराउँदै आएको स्वर्णकारको भनाई छ । उसले ९ वटा स्वर्ण पदक, ७ वटा रजत पदक र ३ वटा काँस्य पदक गरी कुल १९ पदक हात पारेको छ ।

त्यस्तै विद्यालयको वार्षिक परीक्षा सञ्चालन भइरहँदा समेत सहभागी विद्यार्थी खेलाडीहरुले यस वर्ष पनि खेलकुदको तयारी गरेको हुँदा रनिङ शिल्डको उपाधि चुम्न सफल भएको विद्यालयका प्राचार्य विजयमान जिएमले बताउनुभयो । उहाँले आगामी दिनमा समेत विद्यार्थीहरुलाई जिल्ला हुँदै माथिल्लो तहसम्मको प्रतियोगितामा विद्यार्थीको जीत सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।


TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्