रेडियोकर्मीको क्षमता अभिवृद्धिमा मेरो साथ रहिरहन्छ : नगरप्रमुख पाण्डे



सैघाली खबर
दाङ, १४ बैशाख

सामुदायिक रेडियोकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक रेडियोकर्मीका लागि दुईदिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रका ५ वटा सामुदायिक रेडियोका ३० जना रेडियोकर्मीका लागि रेडियो कार्यक्रम उत्पादन तथा व्यवस्थापन कार्यशाला आजबाट सुरु भएको हो ।

कार्यशालाको उद्घाटन गर्दै उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले आफूहरु नयाँ रेडियो स्थापनाको पक्षमा नभएको बताउँदै भएका सामुदायिक रेडियोका रेडियोकर्मीको क्षमता बढाउने पक्षमा रहेको प्रष्ट पार्नुभयो । कार्यशालापछि यहाँका रेडियोले उत्पादन हुने कार्यक्रमको गुणस्तर बढ्नेमा जोड दिदै पाण्डेले आगामी दिनमा पनि पत्रकारहरुको क्षमता बढाउने बारेमा आफूले योजना बनाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि दुर्गालाल केसीले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि उपमहानगरले थालेको प्रयासको प्रशंसा गरेका थिए । कार्यक्रममा सामुदायिक रेडियोका प्रदेश नम्बर ५ का सचिव संगीत वस्यालले स्थानीय विषयवस्तुलाई सञ्चार माध्यममा प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा रिपोर्टस क्लब दाङ्गका अध्यक्ष शरद रेग्मी, राष्ट्रिय समाचार समितिकी नारायणी रजौरे लगायतले तालिम सफलताको शुभकामना दिएका थिए । भोलिसम्म चल्ने कार्यशालाको सहजिकरण सामुदायिक सूचना नेटवर्क (सीआईएन)का वरिष्ठ कार्यक्रम उत्पादक लिलप्रकाश चन्दले गरिरहनु भएको छ । तालिम संयोजक वसन्त विवश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वसन्त पौडेलले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्