कृषिजन्य उपजमा आत्मनिर्भर बनाउने सरकारको योजना



सैघाली खबर
काठमाण्डौं,२३ बैशाख

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि, पशुपक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको व्यवस्थापन तथा विस्तार सहित कृषिजन्य उपजमा आत्मनिर्भर गराउने योजना अगाडी सोरको छ । मन्त्री चक्रपाणि खनालले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ‘सबै नेपालीको प्रण, कृषिमा आधुनिकीकरण, समाजवादको आधार घरघरमा रोजगार’ भन्ने नारासहित मार्गचित्र सार्वजनिक गर्नुभएको हो ।

मार्गचित्रले विगतमा कार्यान्वयन नभएका तथा नयाँ एकीकृत गरेर अगाडि बढाएको कार्यक्रमलाई लागू गर्नुपर्नेमा जोड दिँदै उहाँले समग्र कृषि क्षेत्रलाई समन्वय गरेर कृषि उपजमा मुलुकलाई आत्मनिर्भर बनाउने बताउनुभयो । कृषि क्षेत्रलाई प्रवद्र्धन गरेर रोजगारी सिर्जना गर्ने, कृषिजन्य उपजमा आत्मनिर्भर बनाउने र त्यसको केही समयपछि निर्यात गर्न सक्ने अवस्था तयार गर्नुपर्ने बताउनुहुदै मन्त्री खनालले केन्द्र, प्रदेश तथा स्थानीय तहलाई समन्वय गरेर कार्यक्रमलाई अगाडि बढाइने जानकारी दिनुभयो ।

मन्त्रालयको समन्वय तथा निजी र सहकारी क्षेत्रको सहभागितामा सातवटै प्रदेशमा कृषि उत्पादन र बजारीकरणको कार्यक्रम ल्याइने बताउँदै उहाँले कृषि उपजहरुको उत्पादन र बजारीकरणका लागि कृषकलाई उत्प्रेरित गर्न मुख्य–मुख्य कृषि उपजहरुको न्यूनतम समर्थन मूल्य तोकिने पनि उहाँले जानकारी दिनुभयो ।

आगामी तीन वर्षभित्र कृषिजन्य उपजहरु आलु, प्याज, खुर्सानी लगायत हरियो तरकारीमा आत्मनिर्भर बनाउन स्वदेशमै उत्पादन वृद्धि गरी विदेशबाट आयात गर्न नपर्ने वातावरण बनाईने उहाँले बताउनुभयो । जग्गाधनी र मोहीबीच भूमिमा रहेको दोहोरो स्वामित्व सम्बन्धी समस्या हल गर्न मन्त्रालयमा मोहीयानी समस्या समाधान इकाइ स्थापना गरी आगामी एक वर्षभित्र ‘मोही प्रथा’ पूर्णतः अन्त्य गरिने पनि मन्त्री खनालले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्