प्रधानमन्त्री सहित १८ मन्त्री र ४ राज्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक ।।



सैघाली खबर/काठमाण्डौँ, ९ जेठ।
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री सहित १८ मन्त्री र ४ राज्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्यका नाममा भक्तपुरमा २ र झापामा एउटा घर छ । बैंक खातामा ४२ लाख रुपैयाँ छ । उनिसंग १८ तोला सुनका गहना पनि छन् । रक्षामन्त्री ईश्वर पोखरेलसँग टोखामा श्रीमतीको नाममा घर र झापामा १२ कट्ठा जग्गा छ ।

बैंकमा ७ लाख रुपैयाँ छ । अर्थमन्त्री युवराज खतिवडासँग काठमाडौं, भक्तपुर, झापा र दोलखामा जग्गा, एउटा कार र १० तोला सुन छ । उनको बैंकमा एक करोड भन्दा धेरै रुपैयाँ पनि छ । गृहमन्त्री रामबहादुर थापा बादलसँग बैंकमा ३ लाख रुपैयाँ र ६ तोला सुन छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग काठमाडौंको शंखमुलमा श्रीमतीको नाममा घर र दुई तोला सुन छ । आफूसँग झण्डै २५ सय पुस्तक रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

उर्जामन्त्री वर्षमान पुनसँग रोल्पामा एउटा घर, २५ तोला सुन तथा बैंकमा साढे तीनलाख रुपैयाँ छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको महोत्तरीमा एउटा घर र बैंकमा ३ लाख ६७ हजार रुपैयाँ छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग सिरहा र धनुषामा गरी दुईवटा घर, धनुषा र ललितपुरमा जग्गा र १६ तोला सुन छ । भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठको धनुषा र ललितपुरमा श्रीमतीका नाममा घर, सिन्धुली, ललितपुर र धनुषामा जग्गा तथा बैंकमा ७२ लाख रुपैयाँ छ ।

उनिसंग ५२ तोला सुन पनि छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टसँग काठमाडौं र गुल्मीमा गरी दुईवटा घर र ७ तोला सुन छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग जाजरकोटमा एउटा घर र १५ लाख रुपैयाँ छ । खानेपानी मन्त्री बीना मगरसँग चितवनमा पति प्रकाश र सासू सीता दाहालको नाममा तीन कठ्ठा जग्गा र ५ तोला सुन छ । कृषि भूमि तथा सहकारी मन्त्री चक्रपाणि खनालसँग कपिलवस्तु रूपन्देहीमा १५ कठ्ठा जग्गा र ६ तोला सुन छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीका कास्की र काठमाडौंमा गरी तीन वटा घर, कास्कीमा जग्गा, ६० तोला सुन र बैंकमा २४ लाख ५७ हजार रूपैयाँ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग विराटनगरमा घर तथा सर्लाहीमा जग्गा छ । आफूसँग पुरानो एउटा साइकल पनि भएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासँग म्याग्दीमा जग्गा, एक तोला सुन र बैंकमा १५ हजार रुपैयाँ छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्