बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी, काम दिन नसके राज्यबाट नै तलब ।।



सैघाली खबर/काठमाण्डौँ, १३ जेठ।
सरकारले आगामी वर्षको बजेटमार्फत इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन सुरु गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी गरेको हो । यो कार्यक्रम पहिलो वर्ष प्रदेश ६ र ७ का विपन्न वर्गका नागरिकबाट सुरु गर्ने योजना बनाइएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनकाअनुसार अहिले मौसमी कामका लागि भारत जानेहरुलाई लक्षित गर्दै यो कार्यक्रम सुरु हुनेछ ।

अब सरकारले रोजगारी नभएकाहरुलाई सय दिनका लागि आफैंले काम खोजिदिनेछ । यदि सरकारले काम दिन नसके सरकारी ढुकुटीबाटै सय दिनको पारिश्रमिक बापत तलव दिने व्यवस्था गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो । अर्थमन्त्रालयका एक अधिकारीले भने, यदि विपन्न बेरोजगारलाई काम दिलाउन सकिएन भने उसले राज्यबाट नै तलब पाउँछ । भारतमा पनि सरकारले यस्तो किसिमको रोजगार प्रत्याभुत गर्ने कार्यक्रम चलिरहेको छ । ‘अहिले विभिन्न क्षेत्रमा कामदारको अभाव छ । तर, कामदारले काम भेट्टाउन पनि सकेका छैनन्,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘अब सरकारले बेरोजगार र रोजगारदातालाई जोड्नेछ ।

अन्तर मन्त्रालय समन्वय गरेर देशभित्रै विभिन्न ठाउँमा नागरिकलाई रोजगारीको अवसर जुटाइदिनेछ ।’ ति अधिकारीले भने, ‘यदि विपन्न बेरोजगारलाई काम दिलाउन सकिएन भने उसले राज्यबाट नै तलब पाउँछ ।’ यसका लागि कृषि, उद्योग, वन, शिक्षा, स्वास्थ्य, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, मन्त्रालयसहित पुनर्निर्माण प्राधिकरण लगायतका निकायलाई आफ्ना क्षेत्रमा आवश्यक जनशक्तिको विवरण राख्न लगाइनेछ । पहिलो वर्ष २५ जिल्लाबाट सुरु गर्ने तयारी छ । तर, बजेटका आकारलाई हेरेर केही जिल्लाहरु घट्न सक्ने अवस्था छ । यो वर्षबाट सुरु हुने कार्यक्रम विस्तारै सबै जिल्लामा र्पुयाउने र रोजगार ग्यारेन्टी अवधि पनि बढाउँदै लैजाने योजना बनाइएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्