५ सयभन्दा बढी कैदीलाई गणतन्त्र दिवसको दिन आममाफी दिने सरकारको निर्णय



सैघाली खबर
काठमाडौं,१४ जेठ

सरकारले देशका विभिन्न जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई गणतन्त्र दिवसको दिन आममाफी दिने निर्णय भएको छ । गएराति बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार नेपालको संविधानको धारा २ सय ७६ अनुसार माफी दिन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो । माफीको सूचीमा तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको पनि नाम रहेको भएपनि यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरिसकेको हुनाले अदालतकै निर्णयमा माफी हुने नहुने टुङ्गो लाग्ने सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

बैठकले स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने निर्णय गरेको छ । यस्तै संघीय संसदमा पेश भएको सरकारको आर्थिक वर्ष २०७५÷०७६ नीति तथा कार्यक्रमलाई संसदबाट सर्वसम्मतरुपमा पारित गराउन सहयोग गर्ने सांसदलाई धन्यवाद दिने निर्णय गरेको छ ।

यसैविच प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने, नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच श्रम समझदारीपत्रलाई नवीकरण गर्ने, श्रम नियमावली–२०७५ लाई स्वीकृत गर्ने, विसं २०७४ साउन ८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं ६ को चारकिलो भन्ने स्थानमा पहिरो हटाउनेक्रममा निधन भएका चारजना प्रहरीका परिवारलाई जनही १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने र शिक्षाको अधिकारसम्बन्धी विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय मन्त्रिपरिदषद बैठकले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्