मुख्यमन्त्री भूमीहीन, अर्थमन्त्रीसँग काठमाडौंदेखि धनगढीसम्म जग्गै जग्गा ।।



सैघाली खबर/कैलाली, १५ जेठ।
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो क्याबिनेटका सबै मन्त्रीहरु भन्दा गरीब देखिएका छन् । मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विबरणअनुसार मुख्यमन्त्री भट्टको नाममा कहिकतै जग्गा उल्लेख गरिएको छैन् । केआईसिंह नगरपालिका ६ मा रहेको घर र १८ रोपनी जग्गा मुख्यमन्त्रीका दाजु शालिग्राम भट्टको नाममा रहेको छ भने अढाइ रोपनी जग्गा श्रीमति दुर्कादेवी भट्टको नाममा रहेको छ । मुख्यमन्त्रीको सम्पत्तिको नाममा ७० हजार बैंकमा, मोबाइल १ थान, १ तोला सुन र १५ तोला चाँदी मात्रै रहेको छ । एक लाख ४० हजार वित्तीय ऋण र २ लाख व्यक्तिगत ऋण रहेको मुख्यमन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रदेश ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरा भने प्रदेशका अरु मन्त्रीभन्दा धनी देखिएका छन् । बोहराको काठमाडौं, गोदावरी नगरपालिका, टिकापुर र धनगढीमा समेत पत्नी, छोरा र आफ्नो नाममा जग्गा जमिन छ । बोहरासँग ३ थान जीप तथा कार, ४० तोला सुन र सेयर कित्ता समेत रहेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार अरु मन्त्रीभन्दा धनी देखिएका बोहराको ऋण पनि बढी नै छ । विभिन्न् वित्तिय संस्थाहरुमा मन्त्री बोहराको झण्डै २० करोडको हाराहारीमा ऋण रहेको उल्लेख गरिएको छ भने मन्त्री बोहराले विभिन्न कम्पनीको शेयर मात्रै साढे सात करोड रुपैयाँको हाराहारीमा खरिद गरेका छन् ।

यसैगरी जग्गा आफ्नो नाममा नभएपनि समाजिक विकास मन्त्री दीर्घ सोडारी झपट बोहरा पछिको धनी मन्त्रीका रुपमा देखिएका छन । बैंक मौजदात ५ लाख ६० हजार रहेको सोडारीको परिवारसँग कैलालीको गौरीगंगा, धनगढी, र अछाममा समेत गरी ६ वटा घर र तराईमा डेढ विघा तथा अछाममा ८ रोपनी जग्गा रहेको छ । उसो त आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहसँग पनि अरु मन्त्रीहरुको भन्दा बढी नै सम्पत्ति रहेको छ । सुन मात्रै ५२ तोला रहेका मन्त्रीको परिवारसँग काठमाडौंमा १ घर तथा बाजुरामा १ घर रहेको छ ।

यसैगरी भौतिक योजनामन्त्री पठानसिंह बोहराको परिवारसँग डडेल्धुराको परशुराम नगरापलिकामा करीब ३० रोपनी जग्गा, २ घर, ४ तोला सुन २ लाख ६४ हजार रुपैयाँ बैंकमा मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उद्योग पर्यटन बन तथा वातावरण मन्त्री माया भट्टसँग वैतडी दशरथचन्द -५ मा १ रोपनी जग्गा र १ घर तथा बैंक मौज्दात ५ लाख तथा १५ तोला सुन रहेको छ भने वित्तिय संस्थामा २५ लाख रुपैयाँमा ऋण देखिएको छ । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको श्रीमानको नममा १ विघा ४ कट्ठा जग्गा छ भने बैंकमा ५० हजार र ७ तोला सुन रहेको मन्त्रीले पेश गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्