उपत्यकाका ३० प्रतिशत ट्याक्सीमा पहेलो रङ पोतियो, यसरी चिन्नुस् भाडाका ट्याक्सी



जेठ २७,काठमाडौं । उपत्यकामा सञ्चालनमा रहेका करिब ३० प्रतिशत ट्याक्सीले मात्रै माथिल्लो भागमा पहेँलो रङ लगाएका छन्। सरकारले यात्रुलाई भाडाका ट्याक्सी चिन्न सजिलो होस् भनेर ट्याक्सीको माथिल्लो भागमा पहेँलो रङ लगाउने नियम बैशाखको पहिलो साता सुरु गरेको हो। नियम शुरु भएको झन्डै एक महिना पुग्न लाग्दा जम्मा ३० प्रतिशत ट्याक्सीले मात्रै पहेँलो रङ लगाएको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए। काठमाडौै उपत्यकामा सञ्चालनमा रहेका करिब ७ हजार भाडाका ट्याक्सीका लागि यो नियम लगाइएको हो। यातायात व्यवस्था विभाग र ट्याक्सी व्यवसायीको सहमतिमा नै नियम लागू गरिएपनि थोरै ट्याक्सी धनीले मात्रै रङ लगाएको प्रवक्ता अर्यालले बताए। रङ लगाउन बाँकी ट्याक्सीलाई पहिलो पटक सवारी जाँच पास गर्न जाँदा सम्झाइ बुझाइ गर्ने र दोस्रो पटक जाँच पास गर्न जाँदा समेत रङ नलगाएको भेटिए सवारी जाँच पास नै नगर्ने विभागले जनाएको छ। उपत्यकामा पूर्ण रुपमा यो निमय लागू भएपछि देशभरका ट्याक्सीको माथिल्लो भागमा रङ लगाउने नियम सुरु गर्ने विभागले तयारी गरेको छ। ट्याक्सी सम्वन्धी कुनै गुनासो भएमा ९८५१२–७३२२२ मा सम्पर्क गर्न विभागले यात्रु र सरोकारलाई आग्रह गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्