पेट्रोलियम पदार्थको मूल्य पुनरावलोकन गर्न निगम सहमत



सैघाली खबर, २९ जेठ।

नेपाल आयल निगमले पछिल्लोपटक वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य पुनरावलोकन गर्न सहमत भएको छ । विभिन्न विद्यार्थी संगठन र निगमका पदाधिकारीबीच मंगलबार भएको वार्तामा मूल्य पुनरावलोकन गर्न सहमत भएको हो । मूल्य पुनरावलोकनका सम्बन्धमा विभागीय मन्त्री र निगम सञ्चालक समितिबीच छलफल गरेर निर्णय गरिने निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले बताए ।

‘आवश्यक छलफल गरेर भोलिसम्ममा मूल्य पुनरावलोकनको बारेमा ठोस निर्णय गर्छु’, उनले भने, ‘म एक्लैले बढेको मूल्य फिर्ता लिइहाल्न सक्ने अवस्था छैन ।’ स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेकाले यसमा सबैको सहमति चाहिने उनले बताए । विद्यार्थी तथा विपन्न बर्गलाई सहुलियत रुपमा पेट्रोलियम पदार्थ प्राप्त गर्न सक्ने व्यवस्था गराउनु पर्नेमा जोड दिएका थिए ।

विद्यार्थी संगठनसँग निगमले विगतमा गरेको सहमति  छलफलमा निगमका कार्यकारी निर्देशक भट्टराई, विद्यार्थी नेतृ एवं सांसद नविना लामा, रंजित तामाङ, ऐन महर, सुरेन्द्र बस्नेत, विवेक राई, विमल पोखरेललगायतको सहभागिता रहेको थियो ।

पछिल्लो पटक जेठ १९ गते बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य अनुसार पेट्रोलको ११३, डिजेल र मट्टितेलको समान ९५ रुपैयाँ पुगेको छ ।  देशमा अनावश्यक रुपमा मूल्यवृद्धि भएको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्