सातवटै प्रदेशको बजेटआज



असार १ । सातै वटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । प्रदेश एकको अस्थायी राजधानी विराटनगर, दुईको जनकपुर, तीनको हेटौडा, चारको पोखरा, ५ को बुटवल, कर्णाली प्रदेशको बीरेन्द्रनगर र ७ को धनगढीमा अपरान्ह बस्ने फरक फरक प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रीले आयव्ययको विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ  ।
प्रदेश १ 

प्रदेश १ को सरकारले आज आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले आज अपराह्न ४ बजे करिब ३५ अर्ब रुपैयाँको बजेट संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ । मन्त्री आङबोले ३० देखि ३५ अर्ब रुपैयाँबीचको अंकमा बजेट आउने बताउनुभयो । उहाँका अनुसार बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । पुँजिगततर्फ करिब ८० प्रतिशत र सामान्यतर्फ करिब २० प्रतिशत विनियोजन हुने जनाइएको छ । ४० प्रतिशत भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने गरिने भएको छ । संघीय सरकारले प्रदान गरेको करिब २० अर्ब रुपैयाँमा थप गरी आन्तरिक स्रोत जुनाएर सो अंकको बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ ।

प्रदेश २ 

प्रदेश २ को सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर करिब २८ अर्ब रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्दै छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री विजय यादवले बजेट सार्वजनिक गर्नुहुनेछ । २८ अर्बको अनुमानित बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ । आर्थिक मामिलामन्त्री यादवले कृषिलाई बजेटमा बढी प्राथमिकता दिइएको बताए । उनले त्यसपछि स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । प्रदेश २ को सरकारले जेठ २४ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई नै मार्गदर्शन मानेर आर्थिक मामिला मन्त्रालयले आव ०७५/७६ को बजेट तयार पारेको छ ।

आर्थिक मामिला मन्त्रालयका अधिकारीहरू बिहीबार अबेरसम्म बजेटकै तयारीमा व्यस्त रहे। सरकारले बजेट तयारी गर्न वीरगन्ज, जनकपुर, सिरहा लगायतका क्षेत्रमा पुगेर सुझाव संकलन गरको थियो । संघीय बजेटमा १६ अर्ब रुपैयाँ पाएको प्रदेश सरकारले आफ्नो आन्तरिक स्रोत समेटेर करिब २८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिरहेको छ । कृषि,  सिँचाइ, सडक, उद्योग, पर्यटन र भौतिक पूर्वाधारमा बजेट बढी केन्द्रित रहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रदेश २ को सरकारले आन्तरिक स्रोतको पहिचान गर्दै त्यसबाट संकलन हुने राजस्व रकमका आधारमा बजेटको तयारी गरिरहेको छ ।

प्रदेश ३ 

प्रदेश ३  आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारको तर्फबाट आज ३ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ । मन्त्री ढुंगेलले २५ देखि ४० अर्बको हाराहारीमा बजेट हुने दाबी गर्नुभयो । मन्त्रालयका सचिव बसन्त अधिकारीले प्रदेश सभाबाट पारित बजेटका सिद्धान्त, प्राथमिकता  र आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रमलाई ९५ प्रतिशत कार्यान्वयन गर्ने गरी बजेट ल्याउन दाबी गर्नुभयो । प्रदेश सरकारले सुशासन प्रवद्र्धन, आर्थिक विकास, कृषिको आधुनिकिकरण, व्यवसायिकरण र विविधिकरण, पर्यटन विकास, पुर्वाधार विकास, गुणस्तरीय शिक्षाको प्रवद्र्धन, स्वास्थ्यमा सहज, सरल र सुविधाजनक पहुँच, औद्योगिक विकास र उत्पादकत्वमा बृद्धि, वन संरक्षण विकास र उपयोग, भुमिको उपयोग र व्यवस्थापन, लक्षित वर्ग कार्यक्रम र नतिजामा आधारित अनुगमनलाई प्राथमिकतामा राखेर बजेट बनाएको जनाएको छ ।

प्रदेश ३ सरकारले बजेटमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश अधिकांश कार्यक्रमलाई समावेश गरिएको मन्त्री ढुंगेलको भनाई छ । प्रदेश गौरवका योजनाका रुपमा अगाडि बढाइने भनिएको पोष्टबहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग परियोजना र पुष्पलाल प्रदेश चक्रपथ (रामेछाप–दोलखा–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली–काभ्रे) लाई सम्भाव्यता अध्ययनको लागि मात्रै बजेट विनियोजन हुने भएको छ । काठमाडांै उपत्यका काठ ग्रामीण चक्रपथ, कम्तिमा एक सय मेगावाट सम्मको हाइड्रोपावर निर्माण परियोजना, गौरीशंकर–जुगल–गणेश हिमालका आधार शिबिर जोड्ने उच्च हिमाली पदमार्ग परियोजना, प्रदेश विश्वविद्यालय परियोजना, मरिन शहर निर्माण परियोजना, भक्तपुर–पाँचखाल सुरुङ मार्ग परियोजना र     इन्द्रावती–भिमटार–पाचखाल सिंचाइ परियोजनालाई उच्च प्राथमिकता दिएर अध्ययनको लागि बजेट विनियोजन भएको स्रोतले बतायो ।

मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम संचालन गरी जिल्ला सदरमुकाम तथा नजिकको लोकमार्गदेखि स्थानीय तहको मुकामसम्मका सडकलाई स्तरोन्नती गर्दै आगामी पाँचवर्षभित्र कालोपत्रे गरिने नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार बजेट बिनियोजन हुने मन्त्रालय स्रोतले जनाएको छ ।

प्रदेश ४ 

प्रदेश ४  प्रदेश चार सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि करीव २६ अर्ब बराबरको बजेट आज ल्याउँदै छ । असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार सो आकारको बजेट ल्याउन लागेको हो ।  केन्द्र सरकारबाट प्राप्त हुने समानीकरण अनुदानको १३ अर्ब २७ करोड, सशर्तको ६ अर्बसहित २२ अर्बभन्दा केही बढी र प्रदेशमा आगामी वर्ष करीव ३ अर्ब जति राजस्व संकलन हुने अनुमानका आधारमा बजेट ल्याउन लागिएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेटमध्ये ७० प्रतिशत् पूँजीगत (बिकास) तर्फ रहेको बताउनुभयो । प्रशासनिक, भत्तालगायत सरकारी खर्च कम गर्ने नीति अनुसार बिकास बजेटलाई प्राथमिकता दिइएको एक मन्त्रीले बताए ।  यसअघि ल्याईएको आंशिक बजेटकै सेरोफेरोमा यसपटकको बजेट केन्द्रीत छ । पर्यटन, उर्जा, कृषि, उद्योग र त्यसका लागि आवस्यक सबै भौतिक पूर्वाधार निर्माणमा बजेटले जोड दिएको छ । साथै सामाजिक सुरक्षा र सेवाका कार्यक्रमलाई पनि बजेटले प्राथमिकतामा राखेको छ ।

प्रदेश ५

 

प्रदेश ५  प्रदेश ५ को प्रदेश सरकारले आगामी वर्षका लागि पूर्ण आकारको बजेट आज सार्वजनिक गर्दैछ । ‘सम्बृद्ध प्रदेश खुशी जनता’ नारा अघि सारेको प्रदेश ५ को सरकारको बजेट २८ अर्ब हाराहारी छ । प्रदेश सभाको दिउँसो ४ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्वजनिक गर्नुहुनेछ । केन्द्र सरकारको ससर्त र समानीकरण अनुदान तर्फको १६ अर्ब, प्रदेश स्रोत बाँडफाँटबाट प्राप्त हुने ८ अर्ब र सवा २ अर्ब राजश्व संकलन लक्ष्य सहित चालु आवमा प्रदेश सरकारको सञ्चित कोषको रकम समेतका आधारमा सरकाले बजेट तयार गरेको छ । केन्द्रबाट झण्डै ३ अर्ब समपुरक बजेट पनि प्राप्त हुने सरकारको विश्वास छ ।  सरकारले बुधवार पारित भएको नीति कार्यक्रमलाई आधार मानेर बजेट तयार गरेको छ । उच्चदरको आर्थिक बृद्धि हासिल गर्ने, युवा श्रमशक्तिलाई नेपालमै स्वरोजगारी उपलब्ध गराउन सहकारी र निजी क्षेत्रसंगको साझेदारीमा रोजगारीका अवसर सिर्जना गर्ने योजना बजेटको प्राथमिकतामा छ ।

साना र टुक्रे योजनालाई निरुत्साहित गर्दै २ वर्ष भित्रै सम्पन्न गर्ने गरी योजना र बजेट तयार गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बताउनु भयो । स्रोतका अनुसार बजेटको सबै भन्दा ठुलो हिस्सा भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको छ । क्षेत्रगत रुपमा बजेटको झण्डै ४१ प्रतिशत बजेट भौतिक पूर्वाधारमा छ । कृषि, उद्योग र पर्यटनमा २० प्रतिशत र शिक्षा, स्वास्थ्य सहित सामाजिक विकासमा १३ प्रतिशत बजेट छ ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका लागि १२ करोड, सिद्धबाबाको बैकल्पिक सडक चरङे झुम्सा सडकका लागि १० करोड बजेट बिनियोजन भएको छ । संसदलाई छुट्टै २ योजना, प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा समार्ट भिलेज निर्माण, प्रदेशका १२ वटै जिल्लामा सहकारी बजार, सडकमा मात्र १ सय ८३ योजनालाई सरकारले बजेटमा प्राथमिकता दिएको छ ।  सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बजेट अभाव र विधि अभावमा संसद विकास कोषको व्यवस्था नभएपछि केही सम्बोधन गर्नका लागि योजना दिन भनिएको बताउनु भयो ।

 प्रदेश ६ 

कर्णाली प्रदेश कर्णाली प्रदेश सरकारले आगामी आर्थीक वर्षको बजेट आज १ बजे सार्वजनिक गर्दैछ ।  राजधानी सुर्खेतमा बस्ने प्रदेश सभामा अर्थमन्त्री प्रकाश ज्वालाले २३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुहुने प्रदेश सचिवालयले जनाएको छ । बजेटले कृषि, सडक पूर्वाधार, पर्यटन लगायतलाई ओगट्ने तयारी भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश ७

प्रदेश ७ प्रदेश ७ मा अपरान्ह ३ बजे २५ अर्ब रुपैयाँ बराबरको बजेट आउने भएको हो । सडक पूर्वाधार, कृषि, कर लगायतमा विभिन्न शिर्षक लक्षित गरि अर्थमन्त्री झपट बहादुर बोहोरले बजेट ल्याउने तयारी गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्