कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य, कति तिर्नुपर्छ रकम ?



सैघाली खबर, ५ असार ।
बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था गरेको हो । कृषि बीमा गरेका कृषकहरुको दुई लाखसम्म दुर्घटना बीमा हुन्छ । दुर्घटनामा परेर मृत्यु हुने कृषकले मात्रै यस्तो योजनाबाट क्षतिपूर्ति बापतको रकम पाउनेछन् ।

बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाका अनुसार कृषि बीमा गर्दा अनिबार्य रुपमा कृषकको पनि दुर्घटना हुने व्यवस्था गरिएको छ । हालैबाट कार्यान्वयनमा आएको यो बीमा योजनापछि कृषि बिमा गर्ने कृषकहरुको सख्ंया पनि बढेको सापकोटा बताउँछन् । गत वैशाखदेखि यो व्यवस्था लागू भएको हो । समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई कृषि बीमा गर्दा अनिवार्य रुपमा दुर्घटना बीमा गर्न निर्देशन दिइसकेको छ

। सापकोटाले भने, ‘अहिले एकै घरका विभिन्न पशु र बालीनालीको छुट्टाछुट्टै ब्यक्तिको नाममा बिमा हुने क्रम बढेको छ, कृषि बीमासँगै दुर्घटना बीमा पनि जोडेपछि यस्तो क्रम बढेको हो ।’ दुर्घटना बीमा पनि जोडिएर आएपछि कृषि बीमामा कृषकहरुको आकर्षण बढेर गएको छ । दुर्घटना बीमाको अवधि कृषि बीमाको अवधि बराबरको हुनेछ ।

कति तिर्नुपर्छ रकम ?
यसरी दुर्घटना बीमा बापत कृषकले थप रकम बीमा कम्पनीहरुलाई तिर्नुपर्छ । सापकोटाका अनुसार १ वर्षभन्दा कमको कृषि बीमामा कृषकले थप ५० रुपैयाँ तिर्नुपर्छ । एक वर्षको भन्दा बढी अवधिको कृषि बिमा भएमा भने कृषकले थप १ सय रुपैयाँ तिर्नुपर्छ । सापकोटाले भने, ‘कृषकलाई थप सुविधा दिने हिसाबले यो योजना ल्याएका हौं, यो योजना लिएसँगै कृषि बीमा गर्नेहरु पनि बढेका छन् ।’ तर, यो योजनामा भने सरकारले अनुदानको व्यवस्था नगरेको सापकोटाको भनाई छ ।

कृषि बीमाको शुल्कमा सरकारले अहिले ७५ प्रतिशत अनुदान दिएको छ । अर्थात कृषि बीमाको २५ प्रतिशत शुल्क कृषकले तिरेमा ७५ प्रतिशत रकम सरकारले तिरिदिन्छ । सुरुमा ५० प्रतिशत मात्रै सरकारले अनुदान बापत रकम दिने गरेको थियो । तर ५० प्रतिशत अनुदानमा कृषकहरुको आकर्षण देखिएन । जसका कारण सरकारले कृषि बीमामा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको हो । सरकारले २०६९ साल माघ १ गतेबाट लागू हुने गरी कृषिमा बीमा नीति ल्याएको थियो । यसपछि बाली तथा पशुपंक्षीको बीमा हुन सुरु भएको हो ।

०६९ सालमा बाली तथा पशुपंक्षी विमा ऐन साथै बाली तथा पशुपक्षी बीमा निर्दे्शिका २०६९ लागू गरेपछि कृषि बीमा गर्न सुरु गरिएको थियो । कृषि उत्पादनमा बृद्धि गर्ने हिसाबले सरकारले यो योजना बाहिर ल्याएको हो । देशलाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले सरकारले कृषि बीमा मार्फत कृषकहरुलाई यो क्षेत्रमा प्रोत्साहन गर्न खोजेको हो । अहिले ठूलो मात्रामा चामल तथा तरकारी, फलफूल विदेशबाट आयात हुने गरेको छ । जसका कारण पनि ब्यापार घाटा चुलिँदै गएको छ । कृषि क्षेत्रलाई भरपर्दाे बनाउनका लागि सरकारले कृषि बीमा मार्फत विभिन्न प्रयास गरिरहेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्