सरकारले मोहियानी हकमा दोहोरो स्वामित्व अन्त्यको पहल थालेको छ । त्यसका लागि कृषि मन्त्रालय अन्तर्गतको ‘मोहियानी समस्या समाधान इकाई’ ले जग्गा बाँडफाँटको निवेदन आह्वान गरेको छ । मंगलबार जारी सूचनामा मोही र जग्गा धनीबीच जग्गा बाँडफाँटको निवेदन आउँदो भदौ ४ गतेभित्र सम्बन्धित कार्यालयमा दिइसक्न भनिएको छ ।
कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले गत वैशाख २३ गते आफ्नो कार्ययोजना सार्वजनिक गर्दै एक वर्षभित्र मोहियानी समस्या समाधान गर्ने घोषणा गरेका थिए । त्यसका लागि मन्त्रालयमा ‘मोहियानी समस्या समाधान इकाई’ गठन गरेर काम कारवाही अगाडि बढाइएको छ । इकाईको सूचनाअनुसार २०७६ भदौ ४ भित्र जग्गा बाँडफााटको टुंगो लगाइसक्ने लक्ष्य छ ।
मन्त्रालयले भूमिसुधार र मालपोत कार्यालयहरुलाई जग्गा बाँडफाँटको लागि मोही तथा जग्गा धनीहरुबाट निवेदन दिन आउन सूचना प्रवाह गर्न, प्राप्त भएका निवेदनमाथि तदारुकताका साथ छानबिन गरी बाँडफाँट सम्बन्धी निर्णय गर्न, बाँडफाँटमा कुनै समस्या भए समाधानका लागि विभागमा पठाउन पनि निर्देशन दिएको छ । साथै यी कामको नियमित प्रगति विवरण विभागमा र मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ ।।
मोही के हो ?
भूमिसम्बन्धी ऐन २०२१ अनुसार अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसानलाई मोही भनेर परिभाषित गरिएको छ ।
मोहीवालालाई जोतभोग गर्दै आएको जग्गामा आधा हक लाग्दछ । मोहियानी हक पुस्तान्तरण हुन्छ । मोहीयानी हक पति, पत्नी, छोरा, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, पैतीस वर्ष पुगेकी अविवाहित छोरी, छोरा बुहारी, नाति, नातिनी, नातिनी बुहारी वा दाजुभाइहरूलाई पनि लाग्दछ ।
मोहीवाला र जग्गाधनीले जग्गा बाँडफाँटका लागि संयुक्त रुपमा निवेदन दिनुपर्दछ । मोहीवालाले जग्गा नलिएर प्रचलित भाउअनुसार रकम पनि लिन सक्छ ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।