नारायणगढ– मुग्लिन सडक आइतबारदेखि रातको समयमा बन्द गरिने



असार २३

पहिरोलगायत कारण असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वदलीय सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा रोक लगाएको हो । प्रजिअ नारायणप्रसाद भट्टले बैठकले मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोक्ने निर्णय गरेको जानकारी दिनुभयो । यसैगरी बिहान मुग्लिनबाट ५ बजे र नारायणगढतर्फबाट ४ बजे यातायात खुला गरिनेछ । यसअघि व्यवस्थापिका–संसद् विकास समितिले यही असार ११ गते त्यो सडक खण्डको अनुगमन गरेको थियो । समितिले गृह, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलगायत सरोकार भएका मन्त्रालयलाई सडकखण्डका बारेमा ११ बुँदे विशेष ध्यानाकर्षण र निर्देशन गरेको थियो । निर्देशनपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले निर्णय कार्यान्वयन गराउन सुरु गरेको हो । विस्तार भइरहेको उक्त सडकखण्डमा राति सम्भव भएका निर्माणका कार्य गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी सडक विस्तारका क्रममा परेका बिजुलीका खम्बा र खानेपानीको पाइप सार्ने र रुख काट्ने कामलाई यथाशक्य छिटो सम्पन्न गरी कामलाई सहजीकरण गरिने प्रजिअ भट्टले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्