देशभर अझै दुई दिन वर्षा हुने, अहिले सम्म कुन ठाँउमा भयो धेरै बर्षा ?



सैघाली खबर, १८ असार ।
मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ ।

मनसुन न्यून चापीय रेखा तराईको आसपासमै रहेकाले बुधबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिए । मनसुन रेखा क्रमशः दक्षिणतर्फ सरेपछि मात्र नेपालमा वर्षा कम हुन्छ । यही असार १४ गतेदेखि मनसुन देशैभर फैलिएका कारण बदलीसँगै वर्षा भइरहेको छ ।

आइतबार साँझदेखि देशका अधिकांश भेगमा वर्षा भएको छ । अहिले पनि काठमाडौँ उपत्यकासहित देशैभर बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएको छ । यस वर्षको मनसुन यही जेठ २५ (जुन ८) बाट नेपालमा प्रवेश गरेको महाशाखाले घोषणा गरेको थियो । सामान्यतह नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मलाई मनसुनको अवधि मानिन्छ ।

मौसमविद् रिमालका अनुसार अहिले वर्षा मध्य र पश्चिमी भेगमा केन्द्रीत भएको र साँझबाट मध्य र पूर्वी भेगमा केन्द्रीत हुनेछ । गएराति र आजको तुलनामा मंगलबार र बुधबार वर्षा कम हुनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी नेपालगञ्जमा १८७, भैरहवामा १६६, दाङमा १०६, धनगढीमा ९९, वीरेन्द्रनगरमा ८५ र विराटनगरमा ५९ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौँमा १५ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । केही दिनयता बदली र वर्षाका कारण उपत्यकाको अधिकतम तापक्रम पनि घटेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्