सिन्डिकेट हटाउन महासेठले मानेनन, ज्ञानेन्द्र कि छोरीले सरकारलाई टेरीनन: के हुन्छ अब ?



यातायात क्षेत्रको सिन्डिकेट हटाउन सुरुवाती समयमा सक्रिय देखिएको सरकार कार्यान्वयनको चरणमा भने रहस्यमय ढंगले पछि हटेको छ । यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाएर भौतिक पूर्वाधार तथा यातायातमन्ँत्री रघुवीर महासेठले सिन्डिकेट हटाउन एउटा कार्यदल बनाए ।

साउन १ देखि यातायात समितिको नवीकरण नहुने र यस्ता समितिको अस्तित्व नै नरहने अवस्थामा पनि अहिलेसम्म उक्त कार्यदलले कुनै निष्कर्ष नदिएको कारोबार दैनिकमा खबर छ । सरकारले निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष बनाउने तयारी गरेको नयाँ पत्रिकामा खबर छ ।

यता  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि पठाएको मस्यौदामा अर्थ मन्त्रालयले अनिवार्य अवकाशको उमेर २ वर्ष थप्न प्रस्ताव गरेको छ  ।

संघीय मामिला मन्त्रालयले अनिवार्य अवकाश उमेर ५८ वर्ष प्रस्ताव गरेको थियो । अर्थले निजामती कर्मचारीले पाउँदै आएको केही सुविधा पनि कटौती गर्ने प्रस्ताव गरेको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा सहमति दिने क्रममा मन्त्रालयले सुविधाहरु कटौतीको प्रस्ताव गरेको हो ।

निजामती सेवाका सहसचिव र उपसचिव पदमा अब खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न नपाइने भएको छ ।

कान्तिपुर दैनिकका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको प्रस्तावित विधेयकमा सहसचिव–उपसचिवमा खुला प्रतिस्पर्धाको प्रावधान हटाउन लागेको छ ।

मन्त्रालयले अर्थको सुझावअनुसार ९० प्रतिशत पदपूर्ति ज्येष्ठताका आधारमा र १० प्रतिशत अन्तरसेवा प्रतियोगितात्मक परीक्षाबाट गर्ने गरी विधेयक मस्यौदा कानून मन्त्रालय पठाउने तयारी गरेको छ ।

 ज्ञानेन्द्रकी छोरीले सरकारलाई टेरीनन

दुई महिनाअघि नेपाल ट्रस्टको कार्यालयले ताहाचलस्थित छाउनी मार्गमा रहेको १५ रोपनी जिग्गा खाली गर्न पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई पत्रचार गर्यो । सर्वोच्च अदालतको फैसलाअनुसार ट्रस्टको नाम रहेको विजयाघर सहितको जग्गा खाली गर्न ३५ दिने सूचना जारी गर्यो । तर लामो समय बितिसक्दा पनि प्रेरणाले फैसला स्वीकारेकी छैनन् । उनले घरजग्गा बुबाले दाइजो दिएको भन्दै छाड्न मानिरहेकी छैनन् ।

छाउनी मार्गमै ट्रस्टको नाममा रहेको २ रोपनी १३ आना १ पैसा १ दाम जग्गा जुनी थापाले लामो समयदेखि भोग गर्दै आएकी छन् । ट्रस्टले खाली गर्न ३ पटक पत्राचार गरे पनि त्यसलाई उनले बेवास्ता गर्दे आइन् ।

खाली गर्न ३० दिने, ३५ दिने र ७ दिने सूचना जारी गरे पनि थापाले टेरिनन् । उक्त जग्गामा केही दिनअघि कार्यालयले ताल्चा लगाएको छ । तर उनले सहज रुपमा जग्गा छाड्न मानेकी छैनन् ।
ट्रस्टको दरबारमार्गस्थित १ रोपनी १४ आना जग्गा पनि विवादमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्