सरकारले मलाई मरे मरोस् भनेर सोचेको रहेछ : डा. केसी



सैघाली खबर, ३० असार ।
जुम्लामा १५ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले सरकारले वार्ता गर्न पनि कन्जुुस्याईँ गरेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनसनरत डा.गोविन्द केसीले सत्याग्रहको १४ दिन बितिसकेको र आफूले औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि कुनै चासो व्यक्त नगरेको आक्रोश पोखे ।

केसीले सरकारले वार्ताको तयारी भन्ने तर अहिलेसम्म वार्ताटोली समेत गठन नगर्ने भन्दै काठमाडौंमा लिएर सडाउने प्रयास भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
शुक्रबार रगत परीक्षण गर्न गएका चिकित्सकहरुसँग भावुक हुँदै डा.केसीले भने, ‘मलाई मरे मरोस् भनेर सरकारले सोचेको रहेछ आखिर त्यस्तै हो भने म पनि आज उपरान्त कुनै स्वास्थ्य परीक्षण र उपचार गराउँदिन । तीन करोड नेपालीको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्नु परे पनि आफू तयार रहेको उनको भनाइ थियो ।’

सरकारले वार्ता गर्न चाहेको खण्डमा डा.केसीका तर्फबाट वार्ता गर्ने टोली काठमाडौ रहेको छ । काठमाडौ आएपछि मात्रै वार्ता हुनसक्छ भन्नु सरकारको आफूलाई झुक्याउने चाल रहेको डाक्टर केसीले बताए । सत्याग्रहको १४ दिनसम्म पुग्दा डा. केसीको स्वास्थ्य अवस्था भने बिग्रँदै गएको छ । विगतका अनसनको तुलनामा जुम्लाको चिसो मौसम र हाई अल्टिच्यूडका कारण नयाँ–नयाँ समस्याहरु देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

मुटुको चालमा त्यति समस्या नदेखिए पनि गति असामान्य रहेको छ । कोल्टे फर्कँदा वा हलचल गर्दा मात्रै पनि मुटुको गति एक सय भन्दा माथि पुग्ने गरेको डाक्टरहरुले बताएका छन् । सुरुकै दिनबाट निरन्तर घटिरहेको सेतो रक्तकोशिकाको संख्या शुक्रबारको रगतको रिपोर्ट अनुसार ४ हजार भन्दा कम भइसकेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार डा.केसी विभिन्न खाले संक्रमणको उच्च जोखिममा रहेका छन् । चिकित्सकहरुका अनुसार अझ यस्तो चिसो मौसममा यदि सामान्य रुघाखोकी र ज्वरो आएको खण्डमा पनि त्यसले अकल्पनीय क्षति निम्त्याउन सक्छ । यसैगरी कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मांसपेशी बाउँडिने समस्यामा खास उल्लेख्य सुधार हुन सकेको छैन । पिसाबमा केटोन बडी अत्याधिक देखिन थालेको छ । यसैगरी अनसनको पहिलो दिनको तुलनामा डा।केसीको तौल ९ केजी घटिसकेको चिकित्सकले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्