असारे विकास : २१ दिनमै खर्च भयो ६९ अर्ब, अझै लक्ष्य पूरा भएन



सैघाली खबर, ३२ असार ।
अहिले देशका धेरैजसो ठाउँमा धुलो र हिलोमाथि पिच गर्ने, चिल्लो पिच भत्काएर नयाँ पिच थप्ने, रातारात डोजर पुर्‍याएर गाउँ गाउँमा सडक खन्ने, बलिया बिजुलीका पोल हटाएर नयाँ गाड्ने जस्ता अचम्मका विकास निर्माणका काम भैरहेका छन् । हिउँदको समयमा विकास निर्माणमा खासै ध्यान नदिने तर बर्खा लागेपछि भने रातारात टालटुले काम गरेर भुक्तानी लिने प्रवृत्ति यो वर्ष पनि रोकिएको छैन । सरकारले हरेक वर्ष पूँजिगत खर्च बढाएर विकास निर्माणलाई तिव्रता र पारदर्शी बनाउने भने पनि यो वर्ष पनि पुरानै प्रवृत्ति यथावत रहेको तथ्याँकले देखाएको छ ।

२१ दिनमै खर्च भयो ६९ अर्ब रुपैयाँ
सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ३५ अर्ब १७ रुपैयाँ पूँजिगत खर्च छुट्याएको थियो । पहिले पूँजिगत खर्च नभएकाले चालू आर्थिक बर्षमा खर्च हुनेजति मात्रै छुट्याइएको तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले बताए । तर आर्थिक वर्ष सकिने अघिल्लो दिनसम्म पूँजिगत खर्च जम्मा ७१ प्रतिशतमा मात्रै सीमित भएको छ । सरकारले ३ खर्ब ३५ अर्व १७ करोड रुपैयाँ पूँजिगत बजेट छुट्याएको थियो ।

तर आर्थिक वर्ष सकिन १ दिन बाँकी छँदा अर्थात आइतबार बेलुकीसम्म जम्मा २ खर्ब ३८ अर्ब २० करोड रुपैयाँ अर्थात ७१ दशमलव शुन्य शून्य ७ प्रतिशत मात्रै खर्च भएको छ । असारको १० गतेसम्म पूँजिगत खर्च जम्मा १ खर्ब ६९ अर्व १० करोड रुपैयाँ रहेको थियो । तर २१ दिनपछि अर्थात असार ३१ गतेसम्म आइपुग्दा पूँजिगत खर्च बढेर २ खर्ब ३८ करोड २० लाख रुपैयाँ पुगेको छ । २१ दिनमै सरकारले ६९ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ ।

‘असारमा भएको खर्चमध्ये केही खर्च मात्रै पहिलाको भुक्तानीमा खर्च भएको छ, बाँकी त हामीले अहिले नै विनियोजन गरेर दिएका छौं’ महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले भने, ‘पहिलेको भुक्तानी धेरै भएको भए त ठिकै थियो, तर अहिले नै काम गरेर अहिले नै भुक्तानी लिने धेरै भएकाले यसलाई सकारात्मक मान्न सकिन्न ।’ असारमा खर्च भएको धेरैजसो रकम दुरुपयोग हुने गरेको छ । यस्तै गतिमा हिउँदमै रकम खर्च भएमा मात्रै अनुगमन गर्न सकिने र खर्चको प्रभावकारिता बढ्ने महालेखा नियन्त्रकको कार्यालय बताउँछ ।

चालू खर्चको अवस्था पनि उस्तै नाजुक
पूँजिगत खर्च मात्रै होइन चालू खर्चको लक्ष्य पनि पूरा नहुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा ८ खर्ब ३ अर्व ५३ करोड १४ लाख ५४ हजार रुपैयाँ चालू खर्चको लागि छुट्याएको थियो । तर आर्थिक वर्ष सकिन १ दिन मात्रै बाँकी छँदा अर्थात आइतबार बेलुकीसम्म ७ खर्ब १८ अर्व ९५ करोड ४७ लाख ५९ हजार रुपैयाँ अर्थात ८६ दशमलव शुन्य ७ प्रतिशत मात्रै चालू खर्च भएको छ । यस्तै यो आर्थिक वर्षको लागि सरकारले वित्तीय व्यवस्थातर्फ १ खर्ब ४० अर्ब, २८ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर आईतबारसम्म १ खर्ब ९ अर्व २८ करोड ३८ लाख रुपैयाँ अर्थात ७७ दशमलव ९० प्रतिशत मात्रै वित्तीय व्यवस्थातर्फ छुट्याइएको रकम खर्च भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्