बाबुआमाको मृत्यु भएको चार वर्षपछि जन्मियो बालक



बेइजिङ । चीनमा बाबुआमाको मृत्यु भएको चार वर्षपछि बालकको जन्म भएको छ । बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत ती बच्चाको जन्म भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । लाओसकी सरोगेट आमामार्फत यी बालकको जन्म भएको द बेइजिङ न्युजले जनाएको छ ।

इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) प्रविधिबाट बच्चा जन्माउने आशामा एक चिनियाँ दम्पतीले असंख्य भ्रूण चिस्याएका थिए । तर, दुर्भाग्यवश सन् २०१३ मा भएको एउटा कार दुर्घटनामा सो दम्पतीको मृत्यु भएको थियो । दुर्घटनासँगै ती अभिभावकको सन्तान जन्माउने सपना अन्त्य भएको थियो ।

दम्पतीको सपनालाई कानूनी जटिलताका बाबजुद उनीहरूकै अभिभावकले पूरा गरिदिएका थिए । चिस्याएको भ्रूणबाट गत डिसेम्बरमा लाओसकी एक सरोगेट आमाबाट छोरा जन्मिएको थियो । चिस्याइएको भ्रूणबाट बच्चा जन्माउन मृतक दम्पतीका अभिभावक र आफन्तजनले लामो कानुनी र अदालती झमेला सामना गरेका थिए ।

दुर्घटनाको समयमा सो जोडीको भ्रूणलाई चीनको नानजिङ अस्पतालमा सुरक्षित ढंगले भण्डारण गरिएको थियो । भ्रूणलाई तरल नाइट्रोजन भएको ट्यांकमा माइनस १९६ डिग्रीमा चिस्याइएको थियो । आफ्ना सन्तानको चिस्याइएको भ्रूणको कसले स्वामित्व लिने भन्नेबारे अदालतमा लामो बहस चलेको थियो । अन्ततः अदालती पक्रियापछि ती बालकका घर र मावलीतर्फका चारैजना बाजेबज्यैले भ्रूणको अधिकार पाएका थिए ।

अदालती पक्रिया पूरा गरेपछि चारैजना बाजेबज्यैले अस्पतालको झमेला सामना गर्नुपरेको थियो । नान्जिङ अस्पतालले अर्को अस्पतालले पनि भ्रूणलाई जोगाएर सुरक्षित राख्छ भन्ने प्रमाण पेस गरे मात्र लैजान दिने सर्त राख्यो । अस्पतालको सर्तले समस्यामा परेका बाजेबज्यै अर्को समस्यामा परे । प्रत्यारोपण नगरिएको भ्रूणलाई प्रत्यारोपणका लागि चीनमा अर्को मेडिकल इन्स्टिच्युट पाउन उनीहरूलाई मुस्किल पर्‍यो । चीनमा भाडामा कोख लिन गैरकानुनी मानिने भएकाले उनीहरूले देशबाहिर जाने विकल्प खोजे ।

अन्ततः भाग्यमानी हजुरबुबा तथा हजुरआमाले सरोगेसी निकायमार्फत लाओसकी एक महिलासँग सम्पर्क गरेका थिए । तरल नाइट्रोजनको थर्मस आकारको बोतललाई कुनै पनि विमान कम्पनीले लाओस लैजान अस्वीकार गरेपछि एउटा कारमार्फत भ्रूण लगिएको थियो । लाओसमा भाडामा कोख लिने महिलाको कोखमा सफल प्रत्यारोपण गरिएको थियो।

टियन्टियन नाम दिइएका ती बालकको नागरिकतालाई लिएर बाजेबज्यैले अर्को झमेला बेहोर्नुपर्ने सम्भावना छ । किनकि, पितृत्वको प्रमाण दिन अभिभावक छैनन् । बच्चा जन्माउने क्रममा सरोगेट आमालाई लाओसबाट चीन ल्याइएको थियो । सामान्य पर्यटक भिसामा उनी चीन पुगेकी थिइन् । – एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्