विश्वको ध्यान आफूतिर खिच्न सफल यी महिला को हुन् ?



प्योङयोङ । उत्तर कोरियाली नेता किम जोङ उनलाई विश्वको ध्यानाकर्षण गर्न बारम्बार आणविक क्षेप्यास्त्र प्रहार गरिरहनु आवश्यक पर्दैन । उनको हतियार भण्डारणकक्षमा धेरै दृश्य अदृश्य शक्तिशाली औजार छन् । तिनै हतियारहरूमध्येकी एक हुन् आफ्नै आकर्षक बहिनी किम यो जोङ ।

दक्षिण कोरियाको प्योङचाङमा आयोजित हिउँदे ओलम्पिक खेलको अवसरमा किमकी बहिनी यो जोङ पनि सिउल पुगेकी थिइन् । उत्तर कोरियाली प्रतिनिधिमण्डलकी सदस्य यो जोङलाई सिउल भ्रमणको अवसरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले समेत भेटेका थिए ।

आफ्ना दाजुको हस्तलिखित नोट बोकेर राष्ट्रपति निवासमा जाँदा उनका हरेक गतिविधिको विभिन्न देशका टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण गरेका थिए । उनको मन्द मुस्कान, हिँडाइ, कपालको स्टाइल र हरेक हाउभाउलाई क्यामेराले फोकस गरेका थिए ।

मानवअधिकार दुरुपयोग गरेको आरोपमा अमेरिकाले उनलाई कालोसूचीमा राखे पनि सञ्चारमाध्यमले उनको व्यक्तित्वको सदृश्य वर्णन गर्न चुकेनन् । उनीप्रति मिडिया चार्म यस्तो थियो कि मानौँ उनी हिउँदे ओलम्पिककी मुख्य पात्र हुन् ।

प्योङचाङमा जारी हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा सहभागीको ध्यानाकर्षण उनीतर्फ केन्द्रित थियो । धेरैले उनलाई उत्तर कोरियाली नेता किम जोङ उनकी डुप्लिेकट पात्रका रूपमा हेरेका थिए । यो जोङ निकै आकर्षक पहिरनमा देखिएकी थिइन् ।

समारोहमा सहभागी हुने क्रममा उनीमा बेग्लै ऊर्जा देखिन्थ्यो, जसले समग्र उत्तर कोरियाली महिलाको क्षणिक प्रतिनिधित्व गथ्र्यो । उनको दुर्लभ दृश्य देख्न सहभागी र सञ्चारकर्मीले घाँटी तन्काउनेदेखि आँखा बर्टार्नेसम्म गरेका तस्बिर सामाजिक सञ्जालमा छताछुल्ल पोखिएका छन् ।

धेरै मानिस सो दुर्लभ दृश्य मोबाइलमा कैद गर्न व्यस्त देखिन्थे । भिआइपी कक्षमा उनी बस्दा देश–विदेशबाट आएका आगन्तुक पटक–पटक उनको नजर हेर्नै व्यस्त देखिन्थे । उत्तर कोरियाले एक नम्बरको शत्रु मान्दै आएको अमेरिका र त्यहाँका उपराष्ट्रपति माइक पेन्सबाट केही इन्च टाढा उनी बसेकी थिइन् ।

त्यस्तै उनका अगाडि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र दक्षिणकी प्रथम महिला थिइन् भने केही पर जापानका प्रधानमन्त्री सिन्जो आबे बसेका थिए । त्यस्तै पछिल्ला लहरमा बसेका विदेशी पाहुनाको ध्यान पनि खेलमा भन्दा उनीप्रति केन्द्रित थियो ।

रंगशालावरपर सबैले एउटै शब्द खासखुस गरेका थिए, उत्तर कोरियाली नेताकी बहिनी त्यही हुन् । दक्षिण कोरियाली भूमिमा वर्षौंपछि पाइला टेकेकी यो जोङतर्फ इंगित गर्दै अर्का एकजना खासखुस गरेको सुनिन्थ्यो, ऊ हेर त तानाशाह किमकी बहिनी ।

‘निकै अनौठो र रमाइलो लाग्यो । यसअघि मैलै कहिल्यै पनि उत्तर कोरियालीलाई देखेको थिइनँ,’ एक अधबैँसेले भने । ‘मेरो मुटु साँच्ची नै पग्लिएको छ,’ अर्का सहभागीले भने । – एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्