विकासका कार्यक्रमलाई प्राथमिकीकरणः प्रधानमन्त्री



काठमाडौँ, ११ साउन  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमलाई प्राथमिकीकरण गरिएको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहँुदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई क्रमशः कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामको वार्षिक प्रतिवेदन बझाउनुभएको हो ।

चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयनका लागि भएका काम र उपलब्धि, सरकारी वित्त व्यवस्था र उपसंहार समेटिएको छ ।

उक्त आर्थिक वर्षमा सरकारबाट २२ विषयगत ऐन निर्माणका विधेयक, २१ नियमावली, नौ विषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्यविधि स्वीकृत भएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

सो कार्यविधिअनुसार संघीय शासन प्रणालीअनुरुपको कानूनी संरचना निर्माणको काम भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्