होटेल भन्दा राम्रो बन्दीगृह



 

 

सल्यान, १३ श्रावण । हिरासत भन्ने वित्तिकै तपाईको मानसपलटमा कस्तो कुरा खेल्छ होला ! जताततै फोहरै फोहर , कैदी बन्दीहरुको घुईचो, शौचालय र खानेपानीको अभाव यस्तै हुन तर सल्यान जिल्ला कारागार होटल भन्दा राम्रो बन्दीगहृ भन्दा पत्यारीलो लाग्न सक्छ । जिल्ला प्रहरी कार्यालय सल्यानले कैदी बन्दीहरुका लागि छुट्टाछुट्टै बेडको व्यवस्था गरिएको छ । ओढ्ने–ओछ्याउने सफा छन् । झ्यालको व्यवस्था गरिएको छ, कोठाभित्र राम्रोसँग उज्यालो छिर्छ । कैदीबन्दीलाई पत्रपत्रिका पढ्ने व्यवस्था पनि गरिएको छ ।

यसअघि हिरासतमा महिला र पुरुषका लागि दुई कोठा थिए, जसमा कम्तीमा २५ जना राख्ने गरिएको थियो । कोठाभित्रै पिसाब फेर्नुपथ्र्यो । ओढ्ने–ओछ्याउने कपडा मुस्किलले पुग्थे । रातभरि नसुतेर बस्न बाध्य थिए । दिउँसै बत्ती बाल्नुपर्ने अवस्था थियो ।

सफा र चिटिक्क परेका बेड तथा उज्यालो कोठा भएको होटेल भेट्टाउन सल्यान सदरमुकाम खलंगामा मुस्किल हुन्छ । यहाँका होटेलभन्दा पनि राम्रो व्यवस्था भएको हिरासत कक्ष तयार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले तयार पारेको हिरासत कक्षमा सफा, चिटिक्क बेड, उज्यालो छिर्ने कोठा छन् । सदरमुकाममा रहेका होटेलको भन्दा पनि राम्रो बेड रहेको शारदा नगरपालिका मेयर सुरेश अधिकारीले बताए । ‘यो जिल्लामा रहेका ठुल्ठूला होटेलमा समेत यस्तो व्यवस्था रहेको मैले पाएको छैन,’ मेयर अधिकारीले भने, ‘हिरासतमा रहेकाजस्तै बेड पैसा तिर्छु भने पनि होटेलमा पाइँदैन ।’

जिल्ला प्रहरी कार्यालयले ‘आधुनिक र स्वस्थकर हिरासत’ नाम दिएर नयाँ हिरासत कक्ष तयार गरेको जनाएको छ । ‘मानवअधिकारका दृष्टिकोणले उपयुक्त हिरासत कक्ष बनाएका हौँ,’ डिएसपी भरतबहादुर विकले भने । थुनुवा भन्नेबित्तिकै नराम्रो दृष्टिले हेर्ने, अमानवीय व्यवहार गर्ने, दुःख दिने परिपाटी हटाउन यस्तो सुरुवात गरिऐको उनको भनाइ छ । ‘थुनुवाका आधारभूत मानवअधिकारका लागि हिरासत कक्षलाई व्यवस्थित बनाएका छौँ,’ डिएसपी विकले भने ।

जिल्ला प्रहरी कार्यालयले दुई लाख खर्च गरेर हिरासत कक्षलाई व्यवस्थित बनाएको जनाएको छ । यसको अवलोकनपछि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आधुनिक हिरासतलाई दीगो बनाउनुपर्ने बताए । ‘सुरुवात राम्रो छ, अब यसलाई निरन्तर व्यवस्थित बनाउनका लागि सबैले सघाउनुपर्छ,’ प्रजिअ घिमिरेले भने ।

जिल्लाभरि नै व्यवस्थित गरिने
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिलाई अँध्यारो कोठामा राख्ने, खाना राम्रो नदिने, यातना दिने, श्रममा लगाउने परिपाटीको अन्त्य गर्न हिरासत कक्षलाई व्यवस्थित गर्न लागिएको डिएसपी विकले बताए । यसपछि इलाका प्रहरी कार्यालय, श्रीनगरको हिरासत कक्षलाई आधुनिक बनाइने उनले बताए । ‘जिल्लाका सबै हिरासत कक्ष व्यवस्थित गर्छौं,’ उनले भने ।

सल्यानमा तयार भएको आधुनिक हिरासत कक्षका बारेमा कर्णाली प्रदेशका प्रहरी प्रमुखलाई पनि जानकारी दिइएको छ । प्रदेशभरि नै व्यवस्थित हिरासत बनाउने अभियान सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्